काठमाडाैं – काठमाडौँको ताहाचलमा बसेर व्यवसाय सञ्चालन गर्दै आएका विमला इन्टरनेशनलका सञ्चालक भारतीय नागरिक ३२ वर्षीय अमितकुरमा अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले करछली गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
भारतको पश्चिम बंगला सिलगुरी थाना स्थायी ठेगाना भएका अग्रवालको फर्म राजस्व चुहावट गर्ने मनसायले बिलविजक जारी नगरी अर्डर र इस्टमेट लुज बिल जारी गरी मालसामान बिक्री गरेको र कर छली गरेको विभागको आरोप छ । करछली गरेको बिगो र जरिवाना गरी कुल ७ करोड ६० लाख ६३ हजार रुपैयाँको माग दावी गर्दै विभागले अग्रवालमाथि मुद्दा दायर गरेको जनाएको छ ।
अग्रवालले मूल्य अभिवृद्धि कर(भ्याट) ३ करोड १७ हजार १९ रुपैयाँ, आयकर ८ लाख १४ हजार ७ सय ५३ गरी कुल ३ करोड ८० लाख ३१ हजार ८ सय ५२ रुपैयाँ बिगो दाबी गरेको छ । बिगो बराबरकै जरिवाना समेत गरी उक्त रकम असुल गर्न माग गर्दैै विभागले उच्च पाटल, ललितपुरमा मुद्दा दायर गरेको जनाएको छ ।