काठमाडौं – वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु वा अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति प्रक्रिया अनलाइन प्रणालीमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सुरु भएको घोषणा गरे ।
उनका अनुसार अब वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा मृत्यु वा अंगभंग भएमा आर्थिक सहायता वा क्षतिपूर्तिका लागि परिवारले स्थानीय तहबाट नै तोकिएका कागजातसहित अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिइसकेपछि बाेर्डले सम्बद्ध परिवार सदस्यलाई बैंक खातामै भुक्तानी दिनेछ ।
मृत्यु भएका श्रमिकले इच्छाएको व्यक्तिले नियम अनुसार पाउने बीमा रकम भुक्तानीका लागि समेत अनलाइन प्रणाली प्रयोग गर्नुपर्ने छ । क्षतिपूर्ति वा आर्थिक सहायता रकम भुक्तानी सेवा प्रदायक तथा स्थानीय तहमा सिफारिस गरेको सेवाग्राही वा नजिकको हकवालाको बैंक खातामा सिधा रकम भुक्तानी गरिने छ । बैंक खातामा जम्मा भएको रकमबारे सम्बन्धित व्यक्तिलाई म्यासेज मार्फत जानकारी गराइने छ ।