Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडाैं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको दुई वर्षभित्रमा देशका सबै घरमा बिजुली बत्ती पुर्‍याउने प्रतिबद्धता जनाएकी छन् । सर्लाहीको नवलपुरमा निर्मित १३२/३३ केभी सवस्टेसनको आज उद्घाटन गर्दै मन्त्री भुसालले अब जस्तोसुकै दूरदराजका नागरिकले पनि बिजुलीको उज्यालोबाट वञ्चित हुनु नपर्ने दाबी गरिन् ।

आफूले गरिब घर परिवारलाई निःशुल्क बिजुली दिने व्यवस्था मिलाएको भन्दै उनले त्यसबाट हाल देशभरका साढे २६ लाख परिवार लाभान्वित भएको जानकारी दिइन् । ‘२० युनिट भन्दा कम बिजुली खपत गर्ने साढे २६ लाख परिवारलाई हामीले निःशुल्क बिजुली दिएका छौँ । अब हाम्रो ध्यान बिजुलीको खपत बढाउने तर्फ केन्द्रित भएको छ,’ मन्त्री भुसालले भनिन्, ‘त्यसका लागि भान्सामा एलपी ग्यासको सट्टा विद्युत् चुल्हो प्रयोग गर्न, बिजुलीको उपयोगबाट सिँचाइको व्यवस्था गर्न हामीले नागरिकलाई आह्वान गरिरहेका छौँ ।’

उनले सिँचाइको लागि प्रतियुनिट २ रुपैयाँमै बिजुली दिने व्यवस्था मिलाइएको जानकारी दिइन् । कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बस्ती बसेको ठाउँमा बिजुली पुर्‍याउनु राज्यको दायित्व भएको बताए । उनले नवलपुर सवस्टेसनको निर्माणबाट सर्लाहीमा बिजुलीको गुणस्तरमा उल्लेख्य सुधार भएको दाबी गरे ।

विद्युत् लाइन विस्तारमा राज्यले सबैभन्दा धेरै लगानी मधेस प्रदेशमा गरेको जानकारी दिँदै घिसिङले अब विद्युत् चुहावट नियन्त्रणमा पनि मधेसका नागरिक अग्रसर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विद्युत् प्राधिकरण नवलपुर सवस्टेसनका प्रमुख निरञ्जन साहले आयोजना निर्माण र त्यसको सञ्चालनमा भएको प्रगतिको विषयमा मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङलाई जानकारी गराएका थिए ।

त्यसक्रममा मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङले सवस्टेसनको स्थलगत निरीक्षणसमेत गरेका थिए । कार्यक्रममा संघीय सांसद प्रमोदकुमार साह र राधेश्याम पासवान, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल सरकार र प्राधिकरणको ५३ करोड लागतमा नवलपुरमा सवस्टेसन निर्माण भएको हो । गएको कात्तिकमै पावरटेक वाइवा जेभीले सवस्टेसनको निर्माण सकेको भए पनि मंगलबार मात्रै त्यसको उद्घाटन गरिएको हो ।

तपाईको प्रतिक्रिया