काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र पुरै कर्णाली उज्यालो हुने दाबी गरेका छन् । सुर्खेत ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको तेस्रो संस्करणको दोस्रो दिनमा ‘झरो उज्यालोको खरो’ बहसमा सहभागी घिसिङले विद्युतको नाममा राजनीति गर्ने दिन समाप्त हुने दाबी गरे ।
उनले सांसद र स्थानीय तहका जनप्रतिनिधिले पोल राजनीतिक गर्ने गरेको स्मरण समेत गरे । ‘पूर्वतिरका जनप्रतिनिधिहरूले त्यो वेला तपाईँले लोडसेडिङ अन्त्य गर्नुभयो । हाम्रो राजनीति पनि अन्त्य गर्नुभयो भने ।’ उनले भने, ‘झरो बाल्ने दिन अब अन्त्य हुन्छ । दुई वर्षभित्र कर्णाली पुरै उज्यालो हुन्छ । अब कर्णालीमा विद्युतको राजनीति अन्त्य हुन्छ ।’
जुम्लाका सांसद गजेन्द्रबहादुर महतले कर्णाली मा विद्युत् बाल्न अहिले पनि सिंहदरबारमा बाजा बजाउन जानुपर्ने अवस्था रहेको बताए । ‘प्रदेश बनाउँदा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशले खाइदियो । सुदूरपश्चिममा गाभियो । आन्दोलन गरेर कर्णाली प्रदेशको निर्माण भयो ।’ उनले भने, ‘अहिले पनि हामीले विकास निर्माण चाहियो भनेर आन्दोलन गरिरहनुपरेको छ । राज्यको कर्णालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको छैन भन्ने नै हो ।’
सांसद महत, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बिउराबारी जलविद्युत् योजना जाजरकोटका अध्यक्ष निशा रानाबीच बहस भएको थियो ।