काठमाडौं – चालू आर्थिक वर्षको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले घटेको छ । माघ महिना सम्ममा ५ खर्ब ४० अर्ब १२ करोड कायम भएको रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा कमी आएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई २ लाख १०२ जना पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७३.१ प्रतिशतले घटेको थियो ।