टाेकियाे – जापानका एक अर्बपतिले रुससँग लडिरहेको युक्रेनलाई १ अर्बभन्दा बढी रकम दान गरेका छन् । आइतबार जापानी अर्बपति हिरोशी ‘मिकी’ मिकितानीले एक पत्रमार्फत् युक्रेनको सरकारलाई ८७ लाख अमेरिकी डलर (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) दान गर्ने घोषणा गरेका हुन् ।
उनले रुसी आक्रमण ‘लोकतन्त्रका लागि चुनौती भएको पनि बताएका छन् । ‘मेरो मन तपाईं र युक्रेनी जनतासँगै छ’, मिकितानीले आफ्नो पत्रमा लेखेका छन्, ‘शान्तिपूर्ण एवं लोकतान्त्रिक युक्रेनलाई विनाकारण बलपूर्वक कुल्चनु लोकतन्त्रका लागि चुनौती हो ।’
मिकितानीले युक्रेन र रुसले युद्धलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने आशा समेत राखेका छन् । उनले आफ्नो पत्रमा लेखेका छन्, ‘रुस र युक्रेनले यो विषयलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने र चाँडोभन्दा चाँडो युक्रेनी नागरिकले शान्तिको महसुस गर्ने आशा राखेको छु ।’
मिकितानीले २०१९ मा युक्रेनको भ्रमण गरी जेलेन्स्कीलाई भेटेको पनि बताएका छन् । उनी ई-कमर्श कम्पनी राकुटेन ग्रुपका संस्थापक हुन् ।