२९ वर्षीया पुष्पा बस्नेतको नाम सिएनएन नोमिनी १०१२ को नोमिनेसनमा परेपछि उनको चर्चा चुलिएको छ । विगत ८ वर्षदेखि निर्दोष भएर पनि कारागारभित्र सजाय काट्न बाध्य थुपै्र बालबालिकाको सहारा बनिरहेकी बस्नेत बालबालिकाका लागि समर्पित हुन पाउनुले आफ्नो जीवनलाई सार्थक बनाएको बताउँछिन् । व्यवसायी पूर्णबहादुर तथा सरिता बस्नेतका तीन सन्तानमध्ये माहिली छोरी पुष्पा सामाजिक सेवामा स्नातक, प्रारम्भिक शिक्षामा पोस्ट ग्य्राजुयट हुन् भने हाल उनी सोसल वर्कमा स्नातकोत्तर गर्दैछिन् । सम्पन्न परिवारमा जन्मिएकी पुष्पा सानैदेखि हक्की स्वभावकी थिइन् । सुरु गरेको कामलाई निरन्तरता दिनुलाई जीवनको सूत्र बनाएकी बस्नेत बालबालिकाहरूसँग रहँदा आफूलाई अत्यन्तै सुख मिल्ने बताउँछिन् । हाल चपली गा. वि. स. स्थित प्रारम्भिक बालविकास केन्द्रमा ३८ र सुन्धारास्थित डे केयर सेन्टरमा ४ जना गरी ४२ जना बालबालिका उनको आश्रयमा छन् ।
सिएनएन २०१२ को नोमिनेसनमा परेको खबर सुनेको केही सेकेन्डभित्रको अनुभव कस्तो रह्यो ?
४ महिना पहिलेदेखि नै सिएनएनको एउटा टिमले यसैका लागि भनेर शोध गरिरहेको थियो । मैले ४ महिनापछि राति ३ बजे थाहा पाएँ । निद्रामै थिएँ-म्यासेज आयो । निद्रा हरायो, एकछिन टोलाएर बसें । बिहान सबेरैदेखि फोनको ओइरो लाग्न थाल्यो । फोन उठाउन धेरै कठिन भयो ।
यतिका मुलुकको प्रतिस्पर्धाभित्र यसरी परिएला भन्ने लागेको थियो ?
यो मेरा लागि असम्भवजस्तै थियो । यसरी परिएला भनेर सोचेकै थिइन ।
आफूमा भएको के कुराले सिएनएनको नोमिनी बनायो भन्ने मान्नुहुन्छ ?
यो मुद्दा विदेशीहरूका लागि नयाँ भयो, किनभने विदेशमा बालबालिकालाई जेलभित्र राखिँदैन । उनीहरूले तिमीले यो उमेरमा आफ्नो जीवन अर्पण गरेर यस्तो काम गरिरहेकी छौ, तिम्रो मुलुकले कसरी मूल्यांकन गरेको छ ? भनेर सोधेका थिए । सायद यही कुरामा उनीहरू केन्दि्रत भएको हुनुपर्छ ।
तपाईंलाई लाग्छ यो वर्षको सिएनएन हिरोज अवार्ड पुनः नेपालकै पोल्टामा पर्छ ?
नसोचेको भैरहेको छ र पनि फेरि नेपालमै अवार्ड आउला भनेर अहिल्यै भन्न सकिँदैन ।
अवार्ड हात पर्यो भने सबैभन्दा पहिले तपाईंको एक्सन के हुनेछ र परेन भने के सोच्नुहुनेछ ?
पाएँ भने काममा अझ तीव्रता आउँछ । कारागारभित्र जति पनि बालबालिका छन् ती सबैलाई बाहिर निकाल्छु । अवार्ड हात परेन भने पनि बालबालिकाहरूका लागि एउटा घर बनाउने मेरो सपना सिएनएनले पूरा गरिदिँदैछ, त्यसमा खुसी व्यक्त गर्छु ।
सिएनएन हिरोज बन्नुभयो भने त्यसको श्रेय कसलाई जान्छ ?
सम्पूर्ण नेपालीहरू तथा मेरा बालबालिकाहरूलाई ।
आफ्नो नाम सिएनएनको नोमिनेसनमा परेपछि काममा कत्तिको जाँगर र तीव्रता आएको महसुस गर्नुभएको छ ?
धेरै राम्रो प्रेरणा मिलेको अनुभूति भएको छ ।
तपाईंजस्ता कुनै क्षेत्रमा जीवन समर्पित गरी यसरी काम गर्ने व्यक्तिका लागि यस्ता अवार्डले कस्तो भूमिका खेल्छन् भन्ने लाग्छ ?
धेरै महत्वपूर्ण भूमिका खेल्छ । यो विश्वास दिलाउने माध्यम तथा उत्प्रेरणाको स्रोत पनि हो ।
हाल तपाईंले गरिरहेका मुख्य काम ?
कारगारभित्रका बालबालिकालाई सेल्टर र डेकेयरमा ल्याएर उनीहरूको सुरक्षित भविष्य तय गरिदिने, खाने, लाउने, पढाउने एवं विभिन्न सीप सिकाउने ।
बालबालिकाका हितमा कार्यरत अन्य थुप्रै संस्था र व्यक्तिहरूभन्दा तपाईंको काम के कारणले पृथक् छ ? संस्था खुल्छन्, संस्थाभन्दा अगाडि मान्छे दौडिन्छन् तर मेरा लागि सधैं संस्था अगाडि छ । अबको १५ वर्षपछाडि मेरो संस्थाका बालबालिकाले नै यसको अध्यक्षता गरून् भन्ने मेरो इच्छा जुन मेरो कामको पृथकता हो । म जेमा लाग्छु त्यसमा पूर्ण समय दिँदै सम्पूर्ण ध्यान केन्दि्रत गर्छु ।
यस्ता सामाजिक कार्यमा डटेर लागेका तपाईंजस्ताका लागि सम्बन्धित निकाय, सरोकारवाला तथा सरकारका तर्फबाट कस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ ?
२-३ वर्षअघिसम्म मलाई धेरै कठिन थियो । विजयकुमार पाण्डेको अन्तर्वार्ता र सिएनएन नोमिनी भएपछि मलाई अत्यन्तै सहज भएको छ सबैतिरबाट । यसमा मिडियाले भाइटल रोल प्ले गर्छ भन्ने मेरो अनुभव छ ।
अहिले यसरी बालबालिका, महिला, मजदुर वा श्रमिकका नाममा काम गर्ने संस्थालाई कतिपयले देखाइखाने भाँडोको संज्ञा पनि दिने गरेका छन्, तपाईंको के प्रतिक्रिया छ ?
म मेरा बुवा-आमासँग विदेश घुम्न जान्छु तर बाहिरका मानिसहरू संस्थाको पैसाले विदेश भ्रमण गै भन्छन् । कसैको कुरा होइन कामलाई हेर्नुपर्यो । अन दि स्पट गएर कामको मूल्यांकन गर्नुपर्यो । भन्नलाई सजिलो छ तर त्यही काम तपाईं गरेर देखाउनुस् अनि अनुभव हुन्छ काम गर्न कति कठिन हुँदोरहेछ ?
केही समयअघि बालहितका लागि काम गर्ने संघसंस्थाले बालश्रम शोषण, बालबेचबिखन आदिको आरोप पनि खेप्नुपर्यो । त्यसको वास्तविकता के थियो ?
हुनसक्ला कहीँ-कतै । बालहित भन्नेबित्तिकै उसको अधिकार हनन् हुन नदिनु हो । व्यावहारिक बनाइनु फरक कुरा हो तर उसलाई शारीरिक एवं मानसिक यातना दिनुभएन ।
हरपल बालबालिकाको साथ र संगतले कहिलेकाहीँ आफू पनि उस्तै पो हुने हुँ कि भनेजस्तो लाग्दैन ?
उनीहरूसँग बस्दा मेरो यति उमेर गएको छ जस्तो लाग्दैन । उनीहरूसँग बस्दा नाच्ने, गाउने, जोक भन्ने, रमाइलो गर्ने गर्छु, मेरो व्यवहार उनीहरूसरह नै हुन्छ ।
बालसंसारमा रमाइरहँदा आफ्नो जवानी र युवावस्था यत्तिकै बित्ला भन्ने चिन्ताले सताउँदैन ?
कहिल्यै त्यस्तो लाग्दैन । मेरो समय कहिल्यै फिर्ता आउँदैन । मेरो उमेरका अरूलाई हेर्दा मैले केही गरेजस्तो लाग्छ ।
यसरी यो क्षेत्रमा समर्पित होइएला भन्ने लागेको थियो ?
त्यस्तो सोचाइ नै थिएन । पाइलट बन्ने चाहना थियो तर अहिले पाइलट बन्न नपाएकोमा कुनै पश्चाताप छैन । पाइलट बनेको भए कमर्सियल्ली कसैलाई डेस्टिनेसनमा पुर्याउने काम गर्थें होला तर अहिले त म त्यस्तो पाइलट भएकी छु जहाँ साना नानीहरूले लामो गन्तव्य तय गर्न सक्छन् ।
आफूसँग भएका बालबालिकाको के कुरामा विशेष चिन्ता छ अनि उनीहरूको के कुरामा बढी ध्यान दिनुहुन्छ ?
उनीहरूको विशेष चिन्ता भनेको १५-१६ का केटीहरू छन् उनीहरूले आफ्नो जीवनलाई कसरी अगाडि लैजालान् भन्ने ठूलो चिन्ता हुन्छ । उनीहरू विवाह गरेर गएपछि पनि म ह्यान्डल गर्न सक्छु । त्यसैले उनीहरूसँग निकट रूपमा अपडेट भैरहन्छु ।
सिंगल हुनुहुन्छ प्रेम प्रस्ताव कत्तिको आउँछन् ?
अहिले कामको चटारोले त्यस्ता कुरामा ध्यानै जाँदैन र छैन पनि । १०-१५ वर्षअघि छोरीहरू त्यति पढे-लेखेका हुँदैनथे आमाबुबालाई विवाह गरेर कहिले दिने भन्ने चिन्ता हुन्थ्यो । अहिले समय बदलिएको छ । अहिले महिलाहरू पनि प्रोफेसनल एवं शिक्षित भैरहेका छन् । आजका महिला एक्लै पनि बस्न सक्छन् ।
श्रीमान्, घरपरिवार र आफ्नै कोखबाट जन्मिएका सन्तान हुन् भन्ने कल्पना हुँदैन ?
कहिल्यै त्यस्तो सोंच आएन । मैले ८ महिनाकी सानी बालिका ल्याएकी थिएँ अहिले ९ वर्षकी भइन् । मलाई उनको एकदमै माया लाग्छ । सिएनएन अवार्ड पाएँ भने उनैलाई लिएर जान्छु ।
त्यस्तो कुरा जुन तपाईंलाई गर्नै आउँदैन तर कहिलेकाहीँ अरूका अगाडि जानेको जस्तो अभिनय गर्नुपर्छ ?
कहिल्यै मेकअप गर्न आएन ।
तपाईंको आँखाले कस्तो नेपाल हेर्ने चाहना राख्छन् ?
अहिले जहाँ हरेकले आफ्नो स्वार्थका लागि काम गरिरहेका छन् त्यो नहोस् । मलाई म नेपाली हुनुमा गर्व छ । यो मुलुकलाई सुन्दर, शान्तका साथै सबै मिलेर बसेको देख्न चाहन्छु ।
गर्न बाँकी काम ?
बालबालिकाका लागि घर बनाउन बाँकी छ । यो मेरो ठूलो सपना हो ।
साभारः नेपाल साप्ताहिक