काठमाडौँ । लियोनेल मेस्सीले पीएसजीमा प्रशिक्षण शुरु गरेका छन् । योसँगै मेस्सीले अब पीएसजीमा कहिले डेभ्यु गर्छन भन्ने विषय धेरैको कौतुहलताको विषय बनेको छ ।
फ्रेन्च लिग वान आज रातिदेखि नै शुरु हुँदैछ । पीएसजीले यस सिजनको पहिलो खेल शनिबार राति स्ट्रासबर्गविरुद्ध खेल्दै छ । तर मेस्सीले भने पीएसजीको यस सिजनको पहिलो खेल नखेल्ने भएका छन् । पीएसजीसँगको सम्झौतामा हस्ताक्षरपछि आफ्नो डेभ्यु कहिले हुन्छ भन्ने बारे आफूलाई थाहा नभएको बताएका थिए । कोपा उपाधि जितेपछि मैदान बाहिर रहेको र यसबीचमा बार्सिलोनाबाट बहिर्गमन र पीएसजी आगमन भएकाले उनले मानसिक रुपमा मैदानमा फर्किन समय लाग्ने संकेत गरेका थिए ।
मेस्सीले एक अन्तर्वार्ताका क्रममा आफूलाई पीएसजीको ड्रेसिङरुममा मुस्किल नहुने बताएका थिए । प्रशिक्षक माउरिसियो पोचेट्टीनो पनि अर्जेन्टिनाकै भएको र धेरै जसो प्रशिक्षण टिमका स्टाफ पनि अर्जेन्टिनाकै रहेकाले सजिलो हुने बताएका थिए । साथै पीएसजीको टिममा पनि अर्जेन्टिनाकै एन्जल डी मारिया, माउरो इकार्डीलगायतका खेलाडी रहेको तथा मेस्सीका मिल्ने साथी नेइमार रहेकाले पनि खेलाडीसँग घुलमिल गर्न गाह्रो नहुने उनले नै बताएका थिए ।
तर मेस्सीले अब प्रशिक्षणमा फर्किसकेकाले पीएसजीबाट डेभ्युको तयारीमा उठेका छन् । पीएसजीके अर्को खेल २० अगस्तमा ब्रेस्टविरुद्ध, अगस्त २९ मा रेइम्सविरुद्ध र सेप्टेम्बर १२ मा क्लेरमोन्ट फूटविरुद्ध खेल्दै छ । मिडिया रिपोर्टका अनुसार मेस्सीसीले अगस्त २९ को खेलमा डेभ्यु गर्न सक्ने भएपनि सो खेल अवे खेल भएकाले मेस्सीको डेभ्युको सम्भावना कम देखिएको छ ।
पीएसजीले घरेलु मैदानमा आफ्ना दर्शकको अगाडि मेस्सीलाई डेभ्यु गराउन चाहेको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् । यदि यस्तो भएमा मेस्सीले पीएसजीका लागि सेप्टेम्बर १२ मा क्लेरमोन्ट फूटविरुद्धको खेलमा पीएसजीको घरेलु मैदानमा डेभ्यु गर्ने छन् ।