काठमाडौं – विगत करीब डेढ वर्षदेखि विश्वभर नै अधिकांश व्यवसाय कोभिड-१९को महामारीसँग जुधिरहेको छ । तर, यही महामारीका बीचमा नेपालमा इन्टरनेट व्यवसायमा भने उछाल नै आयो । २०७७ वैशाखदेखि २०७८ वैशाखसम्म एक वर्षका बीचमा मात्रै ५८ लाख इन्टरनेट ग्राहक थपिएका छन् ।
बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ग्राहक संख्या विस्तार गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म देशका ९०.५६ प्रतिशत जनता इन्टरनटको पहुँचमा छन् । तर, कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोग गरिरहेकाले यो तथ्यांक केही कम हुन सक्छ । प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको देखिन्छ ।
हालसम्म जनसंख्याको अनुपातमा ६५.४७ प्रतिशत जनता मोबाइलमा इन्टरनेट चलाउँछन् । त्यसमा सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोगकर्ता छन् । एक करोड १९ लाखले थ्रीजी सेवा लिएका छन् । थ्रीजीमा ९४ लाख ९४ हजारले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट २४ लाख ६२ हजार प्रयोगकर्ता दर्ता छन् ।
यसैगरी फोरजीका ७६ लाख ९७ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै ४८ लाख ०५ हजार प्रयोगकर्ता एनसेलको मात्रै छन् । पहिलोपटक आफैंले सेवा शुरु गरेको नेपाल टेलिकमसँग जम्मा २६ लाख ८६ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमसँग पनि दुई लाख ६ हजार फोरजी प्रयोगकर्ता छन् । मोबाइल ब्रोडब्यान्डमा इ-भिडियो प्रयोग गर्नेहरु एक लाख ३६ हजार छन् ।
तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा करीब ७३ लाख ७५ हजार छन् । गत वर्षसम्म यस्तो प्रयोगकर्ताको संख्या ५१ लाख ८१ हजार थियो । दूरसञ्चार प्राधिकरणका अनुसार यस्तो एउटा इन्टरनेट कनेक्सनमा औसत ५ जना प्रयोगकर्ता हुन्छन् ।
फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या गतवर्षको भन्दा २१ लाख ९४ हजारभन्दा बढीले वृद्धि भएको छ । यस्तो सेवा लिनेको संख्या कुल जनसंख्याको २४.४० प्रतिशत छ । गत वर्षससम्म यो संख्या १७ प्रतिशत मात्रै थियो ।
फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरु अग्रपंक्तिमा छन् । आईएसपीहरुले ६५ लाख ७४ हजार प्रयोगकर्ता बनाइसकेका छन् । नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या ८ लाख छन् ।
यसैगरी २ लाख ०८ हजार तहाररहित फिक्स्ड इन्टरनेट प्रयोगकर्ता छन् । त्यसमा पनि वाइफाइ (रेडियो)को प्रयोगकर्ताको संख्या १ लाख १८ हजार छ भने ९० हजारले वाइम्याक्स प्रयोग गर्छन् ।