काठमाडौं – सन् २०२२ को विश्वकप छनोटमा अष्ट्रेलियाले सहज जित हासिल गरेको छ । बिहीबार राति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा अष्ट्रेलियाले कुवेतलाई हराएको हो ।
एसियाली छनोटअन्तर्गत अष्ट्रेलियाले कुवेतलाई ३–० ले पराजित गर्यो । अष्ट्रेलियाको जितमा म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले एक/एक गोल गरे ।
अष्ट्रेलियाका लागि खेलको पहिलो मिनेटमै लेकीले गोल गर्दै टिमलाई अग्रता दिलाए । २४औँ मिनेटमा ज्याकसनले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । ६६औँ मिनेटमा एजडिनले गोल गर्दै अष्ट्रेलियालाई ३–० गोलको जित दिलाए ।
जितसहित अष्ट्रेलियाले समूह विजेता बन्दै छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अष्ट्रेलिया ५ खेलबाट १५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको १० अंक छ । समान अंक भएको जोर्डान तेस्रो स्थानमा छ । ६ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ ।