टोकियो – फोर्ब्स म्यागजिनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेको छ ।
गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको संख्या सय पुगेको छ । विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन् । चीनले कोरोनाभाइरसलाई छिटै नियन्त्रणमा लिएको, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण न्यूयोर्कलाई पछाडि पार्न बेइजिङ सफल भएको हो ।
धेरै धनाढ्य भए पनि अर्बपतिहरूको कुल सम्पत्तिमा न्यूयोर्क नै अगाडि छ । त्यहाँका अर्बपतिसँग बेइजिङका अर्बपतिभन्दा ८० अर्ब डलर बढी सम्पत्ति छ ।
बेइजिङका सबैभन्दा धनी टिकटकका संस्थापक ज्याङ यिमिङसंग ३५ दशमलव ६ अर्ब डलर सम्पत्ति छ ।
न्यूयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वनगरप्रमुख माइकल ब्लूमबर्गसंग ५९ अर्ब डलर सम्पत्ति छ । अघिल्लो संस्करणको तुलनामा चीनमा यो संस्करणमा २ सय १० अर्बपति थपिएका छन् ।
फोर्ब्सको सूचीमा अहिले अमेरिकामा ७ सय २४ जना अर्बपति छन् भने चीनमा ६ सय ९८ जना अर्बपति छन् । गत वर्ष संसारभरिबाट ४ सय ९३ नयाँ अर्बपति थपिएका छन् । यसको अर्थ औसतमा प्रत्येक १७ घण्टामा एक अर्बपति थपिएका छन् ।
भारतमा १ सय ४० अर्बपति छन् जसले भारतलाई तेस्रो स्थानमा उभ्याएको छ । संसारको सबैभन्दा धनी व्यक्तिका रूपमा एमजनका जेफ बेजोस छन् । गत वर्ष ६४ अर्ब सम्पत्ति बढेर उनको कुल सम्पत्ति एक खर्ब ७७ अर्ब डलर पुगेको छ । एजेन्सी