काठमाडौं – दैनिक जीविकोपार्जनका लागि रोजगारी अत्यावश्यक जस्तै बनेको छ । नेपालबाट कामको खोजीमा दैनिक सयौं युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर, नेपालमा पनि रोजगारीका लागि विदेशी कामदार आउँछन् भन्दा अचम्म लाग्ला ।
यसमा अचम्म मान्नुपर्दैन । विभिन्न मुलुकबाट हरेक वर्ष नेपालमा रोजगारीका लागि आउने गरेका छन् । यद्यपि पछिल्लो समय विदेशी कामदार आउने संख्या भने घटेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आर्थिक वर्ष २०७७-७८ को सात महिनामा नेपाल आउने विदेशी कामदारको संख्या ३५.६ प्रतिशतले घटेको छ ।
यस आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल ५०४ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् तर, गत आवको सोही अवधिमा भने यस्तो संख्या ७८३ थियो । यस अवधिमा नेपालमै कार्यरत ७९३ जना विदेशी कामदारले आफ्नो श्रम स्वीकृति नवीकरण गराएको विभागका महानिर्देशक सनत केसीले जानकारी दिए । उनका अनुसार गत आवको सोही अवधिमा ६२९ जनाले आफ्नो श्रम स्वीकृति नवीकरण गराएका थिए ।
गत आव भर भने १ हजार ९१ जनाले नयाँ श्रम स्वीकृति र ९५९ जनाले श्रम स्वीकृति नवीकरण गराएको विभागको तथ्यांकमा उल्लेख छ । हाल नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायत ८० भन्दा बढी देशका १६ हजार ३७८ जना कामदार कार्यरत छन् । नेपालमा सबैभन्दा बढी कामदार चीनबाट आएको श्रम विभागको भनाइ छ ।
यी औपचारिक रूपमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्दै आएका कामदार हुन् । दक्षिण छिमेकी मुलुक भारतका कयौं कामदार श्रम स्वीकृति नलिई नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । नेपालमा जलविद्युत् आयोजना, पाँचतारे होटेल, विदेशी स्वामित्वका बैंक तथा बिमा कम्पनी, विमान कम्पनी, गैरसरकारी संस्थालगायत क्षेत्रमा विदेशी कामदार रहेका छन् । उनीहरूले नेपालबाट अर्बौं रुपैयाँ रेमिट्यान्स (विप्रेषण)का रूपमा लैजाने गरेका पनि छन् ।
यद्यपि गतवर्षको चैतदेखि कोभिड १९ को महामारीका सुरु भएका कारण विदेशी कामदार घटेको तथ्यांकले देखाएको छ । पछिल्लो समय भने विदेशी कामदारको आगमन बढ्न थालेका छन् । ‘बन्दाबन्दीमा नयाँ विदेशी कामदारको आगमन शून्य नै थियो । श्रम स्वीकृति नवीकरणको काम मात्र भएको थियो,’ महानिर्देशक केसीले समुद्रपारिसँग भने, ‘सरकारले बन्दाबन्दी हटाएपछि र अन्तर्राष्ट्रिय हवाई उडान खुलाएपछि विदेशी कामदार आउन थालेका छन् ।’
नेपालमा विदेशी कामदारलाई श्रम स्वीकृति दिने अधिकार श्रम विभागसँग छ । कामदारले रोजगारदाता संस्थाको निवेदन, कार्य क्षेत्रसँग सम्बद्ध मन्त्रालयको सिफारिस र गृह मन्त्रालयको सहमतिपत्र बुझाएपछि विभागबाट श्रम स्वीकृति पाउन सक्नेछन् । यसका लागि उनीहरूले वार्षिक २० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । विदेशी कामदारले नेपालमा ७ वर्षसम्म काम गर्न पाउने श्रम ऐनमा व्यवस्था रहेको छ ।