काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।
वायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउण्ड (ईयूएस), पीईटी सिटीस्कानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् ।
देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ ।
यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज (सोमबार) भएको परामर्शमा सचेत गराएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले प्रोफेसर डा विक्रम भाटियासँग परामर्श लिएका थिए ।
अध्यक्ष भट्टराई फागुन १८ गते (मंगलबार) नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।