काठमाडौं – सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । नयाँ दिल्लीबाट एयर इन्डियाको विमानमार्फत् १० लाख डोज खोप काठमाडौं आइपुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो ।
उक्त खोप यही फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताइएको छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।