काठमाडौं – विश्वका १०० उत्तृष्ट नर्स तथा मिडवाइफ (सुँडेनी/धाइआमा)हरूको नेताको सूचीमा चार जना नेपाली महिला छनोटमा परेका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा तयार पारेको सूचीमा नेपालकी प्रसंसा बूढा लामा, रुकुमणी त्रिपाठी, शुष्मा योञ्जन, र दुर्गा सापकोटा छनोटमा परेका हुन् ।
अन्तर्राष्ट्रिय नर्स तथा मिडवाइफ वर्ष मनाइरहँदा विश्व कोभिड-१९ को महामारीसँग जुधिरहेको अवस्थामा नर्स तथा मिडवाइफहरु सम्मानका पात्र रहेको र उनीहरुको सम्मानमा ताली मात्र काफी नभएको इयर अफ नर्स एण्ड मिडवाइको आधिकारिक वेवसाइटमा भनिएको छ । ‘पीपीइको अभाव, सहयोगको कमी, अफ्ठ्यारा अनिश्चयताका बीचमा पनि यी महिलाहरुले विरामीहरुको हेरचाहमा अग्रपंक्तिमा रहेर काम गरेका छन् । उनीहरुले विश्वका लाखौँ नर्स तथा सुँडेनीहरुको प्रतिनिधित्व गर्दछन्,’ वेवसाइटमा भनिएको छ ।
गत मार्चमा विभिन्न आठ वटा श्रेणीहरुमा आधारित रहेर विश्वभरबाट आवेदन खुला गरिएको थियो । विविधता, सार्वजनिक नीति, नविनता विज्ञान र स्वास्थ्य, मानव पुँजी विकास, प्राथमिक स्वास्थ सेवा, नेतृत्व तथा व्यवस्थापन, कम्युनिटी हिरो, युवा नर्स तथा मिडवाइफ लिडरमा आवेदन खुला गरिएको थियो । जसमध्ये तीन जना कम्युनिटी हिरो तथा एक जना प्राथमिक स्वास्थ्य स्याहारका लागि छनोटमा परेका हुन् ।
लामा र त्रिपाठी नेपालको पहिलो ब्याचका मिडवाइफ हुन् । मिडवाइफ लामा र त्रिपाठीले कोभिड-१९ को समयमा गर्भवती महिलाहरुलाई निःशुल्क अनलाइन तथा टेलिफोन मार्फत निशुल्क परामर्श दिँदै आएका छन् । यस्तै योञ्जनले समुदायमा पुगेर महिलाहरुलाई पोषण तथा महिलाहरुको स्वास्थ्य समस्याको विषयमा पराशर्म दिने गरेकी छन् । नर्स सापकोटाले यौन, प्रजनन, मातृ तथा नवजात शिशु र किशोर किशोरीको स्वास्थ्यको क्षेत्रमा लागेको वर्ष भन्दा बढी समय भइसकेको छ । उनी अधिवक्ता समेत हुन् ।