काठमाडौं – एक ९० वर्षीया महिला यूकेमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने पहिलो महिला बनेकी छन् । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट कीननले खोपलाई ‘सबैभन्दा राम्रो जन्मदिनको उपहार’ बताएकी छन् ।
उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजर/बायोएनटेकले विकास गरेको खोप दिइएको थियो । सो खोपको आठ लाख मात्रा आगामी केही सातामा यूकेमा लगाइने योजना छ । यो महिनाको अन्त्यसम्ममा यूकेमा ४० लाखलाई खोप लगाइने बताइएको छ । सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ ।
कीननले भनिन्, ‘म कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु । मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो । किनभने यसको अर्थ म अन्ततः परिवार र साथीसँग समय बिताउन सक्छु भन्ने हो ।’ यूके फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो । यूकेले सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ । –बीबीसी