काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनेक दाबी गरिरहे पनि अमेरिकामा कोरोनाभाइरसको संक्रमण रोकिने छाँटकाँट देखिएको छैन । बरु पछिल्ला केही दिन यता यसको रुद्र रुप बढ्दो छ ।
अमेरिकामा शुक्रबार झन्डै ८० हजार नयाँ संक्रमित थपिएका छन् । यो महामारी सुरुवात भएपछि सबैभन्दा बढी संख्यामा एकै दिन संक्रमित हुने संख्यामध्ये एक हो । अमेरिकाका ३८ राज्यमा अहिले कोरोनाको प्रभाव निकै छ ।
उता, फ्रान्समा पनि कोरोनाभाइरस संक्रमित एकै दिन ४२ हजार थपिएका छन् । बेलायतमा चाहिँ कोरोनाको प्रभाव बढ्दै गएपछि केही स्थानहरुमा कडा लकडाउन सुरु गरिएको छ । अमेरिकामा अहिलेसम्म कोरोनाका कारण २ लाख ३० हजारले ज्यान गुमाइसकेका छन् । फ्रान्समा ३४ हजार ५ सयले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
विश्वभर अब कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख ४९ हजार २ सय ३० पुगेको छ । कोरोनाभाइरसको महामारी नरोकिएपछि बेलायतमा शुक्रबारबाट फेरि लकडाउन सुरु गरिएको छ । ग्रेटर म्यानचेस्टरमा २८ लाख मानिस बस्ने ठाउँमा यो लकडाउन सुरु गरिएको हो ।