Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

कोभिड – १९ महाव्याधिका कारण जताततै मनोवैज्ञानिक त्रास यथावतै छ । सबैतिर ब्याप्त अस्तव्यस्तताले गर्दा अर्थतन्त्र जर्जर हुँदै छ । ब्यवसायिक मन्दी, बेरोजगारी, अभाव र अन्यौलताले जनजीवन थप कष्टकर बन्दै जाने संभावना बढेर गएको छ । चाहे त्यो घरदेश नेपाल होस् वा कर्मभूमि परदेश जापान, कोरोना संक्रमितको संख्या घट्दो हैन बढ्दो छ । यसले के संकेत गर्छ भने स्थिति सुधारोन्मुख नभएर थप विकराल बन्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । कोरोना कहरको कष्टकर समय तत्काल साम्य नहुने र यो स्थिति थप लम्बिएर जाने लगभग पक्कापक्की जस्तै देखिन्छ । त्यसकारण पनि सबै तहतप्काबाट थप सजगता एवं सचेतता अपनाउनुपर्ने अवस्था छ ।
लम्बिदो संक्रमण कालिन अवस्थाले अरुजस्तै जापानका नेपालीहरु पनि थप चिन्तित देखिन्छन् । महिनौदेखि थप्प रहेको ब्यवसाय कहिलेसम्म यही अवस्थामा रहने हो केहि ठेगान् छैन । कतिपय नेपालीहरुको रोजगारी गुमेका छन् भने कतिपयलाई विविध कारणले स्वदेश फर्कनुपर्ने बाध्यकारी स्थिति आईलागेका छन् । यसरी हेर्दा यसपालीको महामारीबाट ज्यान जोगिए पनि ब्यवसाय वा रोजगारी जोगिन गाह्रो छ, ब्यवसाय वा रोजगारी जोगिए पनि आर्थिकरुपले पूर्वअवस्थामै फर्कन ज्यादै मुश्किल छ । यसप्रकारको स्थितिले समग्र अर्थतन्त्रमा दिर्घकालिनरुपमा नकरात्मक असर पर्ने अवश्यम्भावी छ ।

जापान सरकारले साना तथा मझौला कम्पनीहरुलाई ब्यवसाय तथा रोजगारी सुरक्षाका लागि भन्दै विभिन्न राहत, अनुदान तथा सहुलियत कर्जा उपलब्ध गराए पनि आर्थिकरुपले कमजोर जगमा उभिएका अधिकांश ब्यवसायिक कम्पनीहरुको भविष्य त्यसले सुरक्षित गर्न नसक्ने देखिन्छ । ठूलो धनराशी लगानी गरी दशकौंदेखि चल्दै आएका साना तथा मझौला कम्पनीहरु लामो समयसम्म घाटामा टिकिराख्न संभव छैन । यसो हुँदा ठूलो संख्याका साना कम्पनीहरु बन्द हुने अवस्थामा पुग्नेछन्, त्यसबाट थप बेरोजगारी समस्या उत्पन्न हुन सक्ने देखिन्छ । यसो हुन नदिन समयमै सचेततापूवर्कको अधिकतम प्रयास गरी तत्काललाई निर्वाहमुखी मात्र भए पनि ब्यवसायिक विरासत जोगाउनु अहिलेको पहिलो कर्त्तब्य हो ।

यसप्रकारको अकल्पनीय अवस्था आउला भनेर एकवर्ष अघि कसले सोचेको थियो र ? त्यसरी नै अबको एक वर्ष पछिको अवस्था के होला ? अहिलै कसैले किटेर भन्न सक्ने अवस्था छैन । टिकेर, जोगिएर बच्न सके त्यसपछि पनि पूर्वअवस्थामा फर्कन थप केही वर्ष लाग्ने हुँदा यसको असर लामो समयसम्म रहने देखिन्छ । विश्वलाई नै थर्कमान बनाएको कोभिड-१९ को महामारीलाई जित्न हरेक ब्यक्ति स्वतस्फुर्तरुपले सजग र सतर्क हुनुको विकल्प छैन । आफ्नो घरपरिवार, कार्यालय, संगठन, नियमित सम्पर्कका समुह सबैतिर उच्च सजगताको खाँचो छ । अनावश्यक भिडभाड, सार्बजनिक भेला जस्ता कार्यक्रमलाई केही समय धैर्य गर्दै कोभिड-१९ लाई जित्न समाजका हरेक सचेत नागरिकको भूमिका उत्तिकै अपेक्षित छ ।

विशेषगरी निको नहुने रोग लागेका दीर्घरोगी, ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग अवस्थाका मानिसहरुका लागि महामारीले थप कष्ट थोपरेको छ । यस्तो बेलामा उनीहरुको सहजीकरणका लागि राज्य वा समाजले जस्तोसुकै मूल्यमा पनि उचित बन्दोबस्त मिलाउनुपर्दछ । घरदेशदेखि परदेशसम्म कोरोना पूर्णरूपमा नियन्त्रणमा नआउँदै जनजीवन सहज बनाउन बन्दाबन्दीको स्थिति अन्त्य भएका छन् । कोरोना नै अन्त्य भएजस्तो गरी सर्बसाधारणहरु पुरानै लयमा फर्कने प्रयासमा देखिन्छन् । यस्तो कार्यले कुनै पनि बेला महामारीले भयानक रूप लिन सक्ने खतरा जिवितै छ ।

लामो समयदेखिको महामारीले सबै क्षेत्रमा आर्थिक संकट देखा परेको छ । लाखौंले रोजगारी गुमाएका छन् । गरिखाने बाटा प्रभावित हुँदा धेरैको पारिवारिक अवस्था खल्बलिएको छ । त्यसकारण पनि नियमित काममा फर्किनै पर्ने बाध्यता छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल र जापान दुवै देश अझै कोरोनाको संभावित खतराको सूचीमा रहेकाले जोगिनुबाहेक हामीसंग अर्को विकल्प छैन । यसैबीच हवाई सेवा पुनः सञ्चालन गर्ने तयारीमा नेपाल सरकार जुटेको देखिन्छ । महामारी नियन्त्रण नभइसकेको स्थितिमा आन्तरिक तथा बाह्य हवाईसेवाको पुनः सञ्चालनबाट स्थिति थप विकराल नहोला भन्न सकिन्न । त्यसैले लम्बिदो असजिलो परिस्थितिको बीचबाट आफु पनि बचौ र अरुलाई बचाऔंको नीति नै आजको मुलमन्त्र हो ।***

तपाईको प्रतिक्रिया