Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस संक्रमणबाट प्रभावित व्यावसायिक प्रतिष्ठानलाई ब्याज सहुलियत दिने बताएका छन्। उनले राष्ट्र बैंक स्थापनाको ६५ वार्षिकोत्सवको अवसरमा यस्तो बताएका हुन्।

यसअघि नै राष्ट्र बैंकले थुप्रै सहयोग र सहुलियत घोषणा गरिसकेको उल्लेख गर्दै गभर्नर अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने बताए। तर त्यस्तो सहुलियतमा अनुदानको हिस्साबारे उनले उल्लेख गरेनन्।

गभर्नर अधिकारीले नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण लगातार उच्च आर्थिक वृद्घिको बाटोमा रहेको नेपाली अर्थतन्त्रले उक्त रफ्तार गुमाउने बताए। यस्तो विषम परिस्थितिमा वित्तीय प्रणालीमा लगानीयोग्य साधनको अभाव हुन नदिन आफू सचेत रहेको पनि उनले बताए।

‘वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवं रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्घ छ,’ उनले भने। संकटको समयमा आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न राष्ट्र बैंकले थप नीतिगत कदम चाल्ने उनले बताएका छन्।

यसका लागि कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्था थप सहज बनाउन आवश्यक भएको गभर्नर अधिकारीले बताएका छन्। उनले साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रलाई मौद्रिक सहायता प्रदान गर्ने पनि बताए। यसका लागि पुनर्कर्जा कार्यविधिमा संशोधन गर्ने र हाल ६० अर्ब रुपैयाँको पुनर्कर्जा कोषलाई आवश्यकता अनुसार बढाउने प्रतिबद्धता उनले गरे।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपाय अपनाउने र वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्ने उनले बताए। लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न पनि राष्ट्र बैंक तयार रहेको गभर्नर अधिकारीले बताएका छन्। यसका लागि राष्ट्र बैंकले क्षेत्रगत क्षतिको आँकलन गरिरहको र त्यस्तो अध्ययन सकिएपछि थप नीतिगत कदम चाल्ने उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया