अहिले विश्वभरमा एउटै कुरा चर्चामा छ – ‘कोरोना भाइरस’ (कोभिड–१९) । चीनको वुहान सहरबाट सुरु भएको विश्वास गरिएको यो भाइरसले ठूला शक्तिराष्ट्रहरुलाई समेत हायल–कायल बनाएको छ । चीनमा हाल प्रभाव घटेको देखिएपनि अमेरिका र युरोपमा यसको प्रभाव दिन दुइगुना रात चौगुना बढेको देखिन्छ । युरोपका इटाली, स्पेन फ्रान्स र जर्मनसंगै इरानमा समेत यसको बलियो प्रभाव देखिन्छ भने अमेरिकाको न्यूयोर्क, वासिङ्टन राज्यसंगै अन्य धेरै राज्यहरुमा ठूलो संख्यामा संक्रमितहरु देखिएका छन् । जापानमा पनि पछिल्लो समय यसबाट संक्रमित हुनेहरुको संख्या उकालो लागिरहेको छ ।
आर्थिक वृद्घि र व्यापार विस्तार नै विकासको प्रमुख सूचक भनेर दावी गरिरहेका शक्तिशाली देशहरुमा कोरोना भाइरसको संक्रमणबाट भएको क्षतिले मानव अस्तित्व कति कमजोर जगमा अडिएको रहेछ भन्ने प्रष्ट पारिदिएको छ । योसंगै मनिसले स्वास्थ्यलाई कति प्राथमिकतामा राख्नुपर्ने रहेछ, रोकथाम र जनस्वास्थ्य उपचारभन्दा कति बलवान हुँदोरहेछ भन्ने कुरा विश्व समुदायका लागि एउटा पाठ समेत बनेको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मानिसमा पहिचान हुन करिब २ हप्ता कुर्नुपर्ने र त्यो समय अगावै मानिसमा सरिसक्ने बताएको छ । यस्तो अवस्थामा स्वस्थ्य र तन्दुरुस्त देखिने व्यक्ति समेत कोरोनाभाइरसको संक्रमणमा परेको हुनसक्छ ।
के हो ‘नोभल कोरोना भाइरस’ ?
कोरोना भाइरस मानिस र अन्य जनावरलाई संक्रमण गर्ने भाइरस हो । यो मानिसहरुमा फैलिन्छ र रुघाखोकी लागेको बेलामा देखिने खोकी लाग्ने, ज्वरो आउने र रुघा लागे जस्तै लक्षण देखा पर्दछ । हालको ‘नोभल कोरोना भाइरस’ सन् २००२/०३ मा चीनमा देखिएको सार्स र सन् २०१२ मा साउदी अरबमा देखा परेको मार्सकै परिवारको भाइरस हो ।
कोरोना भाइरसको संक्रमण भएपछि लामो समयसमम्म रुघाखोकी देखिने, उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने र असर गम्भीर भएमा निमोनिया हुनुका साथै मिर्गौलाले काम गर्न नसक्ने भई मानिसको मुत्यु समेत हुन्छ । कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा भाइरस भएको ठाउँमा छुँदा र राम्ररी हात सफा नगरी नाक, मुख, आँखामा स्पर्स गर्दा संक्रमण हुन्छ ।
विश्व स्वास्थ्य संगठनले ६० वर्ष उमेर कटेका वृद्धवृद्धा र दीर्घ रोगी (मुटुका रोगी, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास आदि) का बिरामी कोरोनाको उच्च जोखिमको समूहमा राखेको छ ।
जापानमा यो समयमा कोरोना कोराना भाइरस मात्र नभएर मौसमी फ्लु वा हे फिभर(खाफुन्स्यो) ले समेत धेरैलाई समस्यामा पार्छ । यस्तोमा आफुलाई कोरोना भाइरसकै संक्रमण हो कि भनेर धेरै डराएको पनि देखिन्छ ।
कोरोना भाइरस र मौषमी फ्लु बीचको फरक कसरी थाहा पाउने ?
कोरोना भाइरस र फ्लुका लक्षणबीच समानता छ । जस्तैः ज्वरो आउनु, थकान महसुस हुुनु, खोकी लाग्नु, मांशपेशी दुख्नु आदि । तपाइलाई अलि अलि चिसो लागेको हो भने केही समय आराम गरेपछि आफैं ठिक हुन्छ । तर कोभिड–१९ वा फलु भएको हो भने चाँहि समय बित्दै जाँदा स्थिति खराब हुँदै जान्छ ।
यात्रा गरेपछि लक्षणहरु देखिएको हो वा महामारी भएको क्षेत्रमा हुनु हुन्थ्यो भने चिकित्सकसँग तुरुन्त सल्लाह लिनु पर्छ । भाइरसको संक्रमण फैलिन नदिने उपाय चाल्नु पर्छ ।
शुरुआती चरणको कोरोना भाइरस संक्रमण, फलु र रुघाखोकी बीच केही भिन्नता भएपनि आफ्नो अवस्था बिग्रदैं गएको जस्तो लाग्यो भने वा स्वास फेर्न गाह्रो भयो वा अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुहोस् । रुघा लाग्छ, आँखा चिलाउँछ । एलर्जीले गर्दा सामान्यतः ज्वरो आउँदैंन । तर रुघा र फ्लुले गर्दा आउँछ ।
व्यक्तिपिच्छे कोरोना भाइरसको लक्षणहरु फरक हुन सक्छ । जापानको हकमा पहिले आफु बस्दै गरेको सिटी अफिसमार्फत तोकिएको ‘होकेन सेन्ता’ मा फोन गरेर आवश्यक परामर्श लिइ मात्र हस्पिटल जानुपर्ने हुन्छ ।
कसरी सुरक्षित रहने?
कोरोना भाइरसको संक्रमण हुनबाट जोगिन विश्व स्वास्थ्य संगठले सुझाएको सबैभन्दा प्रभावकारी उपाय भनेको सामाजिक दूरी अर्थात ‘सोसियल डिस्टेन्स’ कायम राख्नु हो । घरमै बस्नु अनि अन्य व्यक्तिबाट सकेसम्म पर बस्नु नै सबैभन्दा पहिलो उपाय हो । त्यसैगरि नियमित हात धुने, हात धुँदा कम्तिमा पनि २० सेकेण्डसम्म धुने र साबुनको प्रयोग गर्ने, साबुन र पानीको पहुँच छैन भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, अनुहार, विशेषगरीः आँखा नाक र मुख नछुने, खोक्दा वा हाँच्छिउ गर्दा डिसपोजेवल टिस्यूले मुख छोप्ने, साथमा टिस्यु छैन भने खोक्दा कुहिनाले छेक्न, मास्कको अनिवार्य प्रयोग गर्ने गर्नुपर्छ साथसाथै हात मिलाउने, अँगालो मार्ने वा म्वाइ खाने गर्नुहुन्न । यसको सट्टामा अरुलाई नछोइकन गर्ने खालका नमस्कार वा यस्तै जापानमा शीर झुकाएर गरिने अभिवादनको प्रयोग गर्नु उचित हुन्छ ।
सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेशन भनेको के हो ?
कोरोना भाइरसको प्रकोप बढेसंगै चर्चामा रहेको शब्द हो क्वारेन्टायन । यसमा पनि सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेशनवीच धेरै जनावीच भ्रम देखिन्छ ।
स्वास्थ्य क्षेत्रमा कोरोनाभाइरस या यस्तै अन्य भाइरसको सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिय क्वारेन्टाइन हो । जसलाई त्यो भाइरस सरेको सम्भावना मात्र गरिएको हुन्छ । अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो । कोरोना भाइरसको सवालमा अन्तर्रािष्ट्रय स्तरमा हालसम्म भएका खोज तथा अनुसन्धानहरुले न्यूनतम १४ दिनको अवधिसम्म सेल्फ क्वारेन्टाइन गर्नुपर्ने हुन्छ ।
त्यस्तै रोगी व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रियालाई आइसोलेसन भनिन्छ । अनि रोगी व्यक्ति अस्पताल नगई आफैं छुट्टै बस्ने प्रक्रिया सेल्फ आइसोलेसन हो । कोभिड–१९ प्रमाणित भएका बिरामी जो सामान्य अवस्थामा छन् उनीहरु घरमै आराम गरेर बस्नुलाई नै सेल्फ आइसोलेसन भनिएको हो । जसको कारणले अस्पतालमा हुने अनावश्यक जोखिमबाट आफू पनि बचिन्छ र अरुलाई पनि बचाउन सकिन्छ ।
भाइरसभन्दा ठूलो अफवाहको संक्रमण
कोरोना भाइरसको संक्रमण बढेसंगै सामाजिक संजाल तथा इन्टरनेटमा विभिन्न अफवाहहरु फैलिइरहेका छन् । यस्तो हुँदा मानिसहरु थप त्रसित बनेको देखिन्छ । आफुले लिने सूचनाहरु कत्तिको विश्वसनिय श्रोतबाट लिइरहेको छु भन्ने कुरामा स्वयं व्यक्ति सचेत हुनुपर्दछ । विश्व स्वास्थ्य संगठन, सरकारी श्रोतहरु र लामो समयदेखि सही सूचना दिंदै आएका संचारमाध्यमहरुबाट आउने समाचार तथा सूचनाहरुमा मात्र विश्वास गर्ने गर्नुपर्दछ । अन्यथा कोरोना भाइरसभन्दा बढि अफवाहको संक्रमणमा परिन्छ । यसले अनावश्यक तनाव सिर्जना हुँदा मानसिक रुपमा समस्या उत्पन्न हुनसक्छ । कोरोना भाइरसको प्रकोपसंग नआत्तिइ सचेत भने रहनुपर्छ ।