Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – चीनमा महामारीका रूपमा देखिएको कोरोना भाइरसबारे गरिएको हालसम्मकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष चिनियाँ स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेका छन् ।

कोरोना भाइरस संक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्षमा ७० हजारभन्दा बढी कोभिड-१९ संक्रमणका विवरणहरू समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकअनुसार ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो । सो अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको संकेत गरेको छ ।

मंगलबार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो । ५१ वर्षीय लियो झामिङ सो संक्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक हुन् । कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन् । चीनको हुबेई प्रान्तमा कोरोनाभाइरसको संक्रमण सबैभन्दा खराब स्तरमा फैलिएको छ । चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकले सो प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ । सो अध्ययनले समग्रमा कोभिड-१९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ ।

मंगलबार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्यांकअनुसार कोरोना भाइरसका कारण ७२ हजार ४३६ संक्रमणका घटनामा १ हजार ८६८ जनाको मृत्यु भएको छ । अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन संक्रमणको केन्द्रमा रहेको हुवेई प्रान्तमा १ हजार ८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन् । चिनियाँ अधिकारीहरूका अनुसार १२ हजार भन्दा बढी मानिसहरू कोरोना भाइरसको संक्रमणबाट निको भएर फर्किएका छन् ।

यस्तो छ अध्ययनको निष्कर्ष
सो अध्ययनमा झन्डै ८०.९ प्रतिशत संक्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ भने १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ । उमेरका हिसाबले ८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ । कोरोना भाइरसका कारण ९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन भने ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ ।

त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशः बढ्दै गएको देखिएको छ । ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा ८ प्रतिशत जोखिम रहेको पाइएको छ । लैंगिक अनुपातमा पुरूषमा भन्दा महिलामा कम जोखिम पाइएको छ । पुरूषमा २.८ प्रतिशत जोखिम पाइएको छ भने महिलामा १.७ प्रतिशतमात्र जोखिम रहेको पाइएको छ ।

बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा सो अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ । त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ । सो अध्ययनमा हालसम्म ३ हजार १९ जना स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएको र त्यसमध्ये ११ फेब्रुअरीसम्म ५ जनाको मृत्यु भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया