कान्छा, कान्छा भनेर एकोहोरो बुबाले एकाबिहानै बोलाउनुहुन्छ । म न्यानो बिस्तराबाट आँखा मिच्दै हतपति बाहिर निस्कन्छु । बुबाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशा फाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी बनमा कल्चौंडाले गीत गाउँदै छ । शिशिर यामको चिसो हावाले मेरो ज्यानमा जिरिङ्ग काँडा उठे । म बुबा सुत्ने कोठाको ढोकामै पुग्छु । बुबालाई प्रणाम गर्छु । बुबाले आशिर्वाद दिनुहुन्छ – ’ठूलो नेता भएस् दीनदुःखीको सेवा गरेस ।’ बुबा उठेर खाटको डिलमा बसेर मलाई अह्राउनु हुन्छ । जा’ त्यो खन्युको बुटो काट, ढलाईदे । त्यो बुटो अब काम लागेन, न घाँस न दाउरा हुने भो, आधा हरियै छ आधा कमिला र धमिराले खाईसके । त्यो बुटाको जुन महत्व थियो अब छैन त्यसलाई काट । मैले बुबासंग गुनासो पोख्छु, बुबा कसरी ढलाउने त्यो बुटो ? तलपट्टी लाँकुरीको सुरिलो बुटो छ, यता उता छिमेकीका घर, बाली छ, अरुको घरबाली नासियो भने भनाई आउँछ, जरिवाना तिर्नुपर्छ, तल तिर हुर्कदो सुरिलो लाँकुरीको बोट मास्न पनि भएन, कसरी ढाल्ने त्यो बूढो बुटो बुबा ? कति अप्ठेरोमा छ बुटो हजुरलाई थाहै छ । मैले प्रश्न गर्छु, मेरो प्रश्नले बुबा सोच्न बाध्य हुनुहुन्छ ।
बुबाले निधार खुम्च्याउनु भयो, कतै डोरी लगाएर तानेर ढल्काउन पनि नसकिने, राखेर पनि त्यो अर्धसुकेको उजाड बूढो बुटाको कुनै काम छैन, गएको फागुनको हुरीवतासमा पनि ढलेन । ढलिहाल्यो भने पनि बिचरी पल्लाघरे साँइलीको घर भत्काउला भन्ने पिर, वालीनाली बिग्रने डर बडो घाँडो भयो त यो खन्युको बुटो । अब दाउरा सिवाय यस बुटोको कुनै काम छैन । ढाल्न पाए दुई बिहा उम्काउने दाउरा त हुन्थेहोला, धमिरा र कमिलाले खाइसके कान्छा जा कुनै उपाय निकालेर ढला । बुवाले बुटो ढलाउने जिम्मा मलाई दिनुभयो ।
दुई वर्ष पहिलासम्म यो बुटो कति हरियो थियो कस्तो झ्वाम्म परेर घाँस र शितल दिन्थ्यो । बुबा त्यही खन्युको बुटोमुनि दिन बिताउनु हुन्थ्यो । त्यही पाकेको खन्यु गाउँभरिका मानिसलाई बाँड्नुहुन्थ्यो । गाउँका बूढापाका केटाकेटी यही खन्युका बुटो वरिपरि झुम्मिन्थे । बाङ्गे खन्यु भनेपछि गाउँमा निकै चर्चा थियो । कति मीठो थियो भने केटाकेटीले त नधोईकन कपडामा पुछेर खन्यु खान्थे, बिहान उज्यालो हुन नपाउँदै खन्युको बुटो वरिपरि केटाकेटी भरिन्थे । हिउँदभरी भैंसीलाई घाँस हुन्थ्यो । सुनसान रातमा त्यही खन्युको बुटामा बसेर नयाँ वसन्तको गीत गाउने कोईली चरी पनि आजभोलि उ लाँकुरीको बुटामा बसेर कराउँछ, गाउँछ । झ्याउँ-झ्याउँती झुम्मिने चराचुरुङगीहरु आजकल कहाँ गएहोलान् ? आजभोलि केवल लाटोकोसेरो धुमधुम्ती त्यो उजाड खन्युको रुखमा बसेर शिकार खेलिरहन्छ । बारीका कान्लाहरुमा खेलिरहेका मुसा, किराकिरी टपक्कै टिपेर त्यही बुटामा बसेर खान्छ । टुहुराको एकपटक पालो आउँछ, काली पनि बैंसमा राम्री हुन्छे भने जस्तै त्यो बुटोको कुनै बेला निकै चर्चा थियो, बाङ्गे खन्युको गुणगान नगाउने कोही थिएनन् टोलभरी, तर अहिले बुटो टाँट पल्टेको छ, न घाँस, न खन्यु, न दाउरा, केवल धमिरा र कमिला लागेको बुटो अब नढाली सुखै छैन । त्यो बुटो काट्दा लाँकुरीको बोट हर्लक्कै हुर्किन्छ भने, बुटोका दाउराले दुई बिहा उम्काउछ भने कमिला र धमिराले नसक्दै बुटो काट काट भन्नुहुन्छ बुबा, म निकै घोरिन्छु, टक्क अडिन्छु जुक्ति र बुद्धि प्रयोग गर्ने चेष्टा गर्छु ।
बुटोमा चढेर निर्धक्क हाँगा काटुँभने पनि कमिला र धमिराले बस्न दिंदैनन्, कतै ठाडै बुटाबाट झार्ने हुन कि भन्ने पिर, फेदबाट काटुँ भने अरुलाई असर गर्ला कि भन्ने डर, त्यसै छाडौं भने बुटो त हाम्रै हो तर प्रयोगविहिन हुने भयो भन्ने मात्रै पिर । सबै डर, त्रास पिरबाट जोगिएर मैले बुटो काट्नु छ । मैले मनभरि कुरा खेलाउँछु यो संसारको रित नै बडो अनौठो छ । कुनै पनि वस्तुको जन्म सँगै मृत्यु आएको हुन्छ । एउटा विरुवा पनि सानोबाट हुर्कदै जान्छ र एक पटक लोर्के बन्छ, फुल्छ फल्छ कैयौंपटक यो प्रक्रिया दोहोरिन्छ र अन्तमा मर्छ । एउटा विरुवाले आफ्नो जीवन कालमा के दिन सक्यो ? त्यो कुरा निकै महत्वपूर्ण हुन्छ त्यसैगरी मानिसले पनि जीवनमा जन्मेर नमरुञ्जेलसम्म मानव समुदायलाई केही दिन सक्नुपर्छ ।
यो खन्युको बुटोले घाँस दियो, कति मीठा मीठा फल दियो, छहारी दियो, अक्सिजन दियो र कार्बन लियो । तर हामीले एउटा रुखले जति पनि काम गर्न सकेका छैनौं । हामीले दिने होइन कि लिने मात्र काम गरेका छौं । हामीले सेवा गर्ने होइन कि दुःख दिने मात्र काम गरिरहेका छौं । कुनै दिन हामीलाई पनि काट्नुपर्ने हुनसक्छ । ढलाउनु पर्ने हुनसक्छ । हामीले महिला मुक्ति, दलित मुक्ति, जनजाती मुक्ति, दुःखि गरिब सबैको मुक्तिका लागि थुप्रै थुप्रै पैसा उठाएर दोसल्ला ओढाएर फूलमाला पैह्राएर उधुम गरेका छौं तर मुक्ति कहाँ कति भयो ? बुबाले पुनः बोलाउनुहुन्छ, कान्छा । बुबा म आँए, म पुनः बुबाको सामु पुग्छु । बुबा भन्नुहुन्छ – हिड गाउँमा गएर एक-दुईजना सहयोगी लिएर बुटो त ढाल्नैपर्छ । हामीले बुटो ढालेनौं भने बुटोमा लागेको रोग उ त्यो लाँकुरीमा पनि सर्ने छ । ति कमिला, धमिराहरु हाम्रा घरमा पनि पस्नेछन् र हाम्रो सारा गाउँनै कमिला र धमिरामय हुने छ । हामीले बुनेका समाजवाद र साम्यवादका सपना केवल सपना मात्रै हुनेछन् । त्यसैले पनि कान्छा बुटो त ढाल्नै पर्छ ।***