कुनै पनि चीजको परिमाण जति थोरै भयो उति धेरै महत्व हुन्छ भने, संख्या जति धेरै भयो त्यसको महत्व कम हुँदै जान्छ । यो हरेक ठाउँमा लागू हुने विश्वब्यापी मान्यताभित्र पर्दछ । सानो चुस्त दुरुस्त सरकारमा मन्त्रीहरुको शान र मान अर्कै हुन्थ्यो । अहिले गाउँदेखि केन्द्रसम्म जता फर्केपनि मन्त्री नै मन्त्री भेटिने देशका नागरिक हामी । उनीहरुको बजारमा अचेल खासै भाउ छैन । यो त भयो घरदेशको कथा, यता परदेशतिर पनि हालत उही छ । हुन त विकृति जति हामी उतैबाट आयात गर्दै आईरहेका छौं ।
हामीले अमेरिका, बेलायत, अष्ट्रेलिया या जापानमै पनि चुनाव जितेका वा कुनै पनि उच्च ओहदाको जिम्मेवारी पाएकालाई खादा, माला, अबिरजात्रा गरेको र महिनौसम्म सम्मान गरेको कहिलै देखेका छैनौं । हामीकहाँ संसारै जितेसरह भलै उसको पद सामान्य सदस्य नै किन नहोस् महिनौसम्म सम्मानको नाममा नौटंकी गर्ने सँस्कारले किलोजरो गाड्दै छ । कुनै पनि जिम्मेवारीमा पुगेपछि निजले कुनै विशेष अतिरिक्त वा उल्लेखनीय कार्य गरेबापत सम्मान गरिनुपर्नेमा पद बहाली र कामको नाममा सिन्को भाँच्न सुरु गर्न भ्याएका हुँदैनन् पहिलै सम्मान गरेर धुरीमा पुर्याईदिने हाम्रो बढ्चलनमा सुधार गर्नैपर्छ । यसो गरिनु सर्बथा गलत छ ।
अचेल सम्मान र सल्लाहकार भन्ने शब्द बजारका सस्तो माल भएका छन् । जसलाई पनि, जता पनि जतिखेर पनि सम्मान गर्ने चलन शायद विश्वमै हामी पहिलो हुनुपर्छ । सम्मानित हुनेहरुले पनि के सोच्दाहुन् कुन्नि त्यो त आफै जानून् तर कामै नगरी सम्मान गरिन्छ भने काम किन गर्ने अर्थात काम गरेर देखाउन के गर्नुपर्ने हो भन्ने बारे बहस र तर्क गर्न हाम्रो समाजले आवश्यक ठान्दैन ।
यसैगरी अचेल सल्लाहकार पद बजारमा असाध्यै सस्तिएको छ । शब्दकोषको परिभाषालाई मात्र मान्ने हो सल्लाहकार भनेको आवश्यक परेको बखत तत्काल सम्बन्धित बिषयमा सल्लाह दिन सक्ने क्षमता, अनुभव, ज्ञान र हैसियत भएका व्यक्ति मानिन्छ, आलांकारिक भएपनि यो आफैमा अत्यन्त सम्मानित, गरिमामय र वजनदार पद मानिन्छ । तथापि यसलाई पछिल्ला समयमा कपास जस्तै अत्यन्त हलुका बनाईदै छ । संख्या पुर्याउनकै लागि भिडको सदस्य मात्र बनाईदैं छ । कसैलाई खुशी बनाउने नाममा होस् या भाग पुर्याउने नाममा विधानै मिचेर भएपनि दर्जनका दर्जन संख्यामा सल्लाहकारहरु भर्ती गर्ने चलन जापानतिर बढ्दो छ । कुनै समय युकेतिर एक नाम चलेकै भनिने संस्थामा डेढ सय जना सल्लाहकार चयन गरिएको बिषय समाचार बनेर आएको थियो । विचार गरौं त ती डेढ सय जना सल्लाहकारले के सल्लाह दिएहोलान् र त्यो संस्थामा कार्यकाल समाप्तिपछि बहिगर्मनका बेला इतिहासमै सबैभन्दा विवादित कार्यसमिति बन्न पुगेको थियो । त्यो रोग अब बिस्तारै जापानतिर सल्किदैं छ । यो एउटा अत्यन्त विचारणीय बिषय जो छ । न कुनै मापदण्ड छ, न कुनै विगतको अनुभव र क्षमताको आधार छ, जसलाई पनि टपक्कै टिप्यो सल्लाहकारमा राख्यो, हाइसञ्चो । खुरुक्क बोलायो घाँटीमा खादा भिरायो सम्मान गर्यो, समाचार बनायो, शेयर गर्यो, वाह वाह बटुल्यो । केही समयपछि फेरि अर्को चक्र सुरु हुन्छ उनले पनि त्यसैको सिको गर्ने नै भए । अनि काम उही गरेपछि फरक परिणामको अपेक्षा गर्ने हामी पनि उस्तै ।
त्यसो भएको हुनाले ढिलै भएपनि सुधारको प्रयास गरिनु वाञ्छनीय छ । व्यक्ति-व्यक्ति मिलेर परिवार र परिवार-परिवार मिलेर समाजको संरचना हुने भएकोले सबैभन्दा पहिले हरेक व्यक्तिको सोचमा परिवर्तन आउन सके समाजको परिवर्तन अवश्यम्भावी छ । सार्बजनिक ओहदामा पुगेकाहरुलाई जिम्मेवार बनाउन समाजका हरेक सदस्यको सकारात्मक खबरदारी र दबाबको आवश्यक छ, संगसंगै सहयोगको पनि न कि सम्मानको । कार्यसम्पादन र योगदान पछिको सम्मान पो सम्मान, लिनेलाई पनि मजा, दिनेलाई पनि मजा ।