ब्यस्तताको पर्यायवाची मुलुक जापानमा फुर्सदिला मान्छे भेटिन गाह्रै हुन्छ । यद्यपि भनिन्छ, फुर्सद भनेको आफैले निकाल्ने हो । विश्वका जो कोही महान व्यक्तिदेखि सर्बसाधारणसम्म एकदिनमा हुने समय भनेको सबैका लागि बराबर २४ घण्टा नै हो । लामो समयसम्म कामको बोझ, जिम्मेवारीको तनाव र भागदौडका कारण मानसिकरुपमा थकित जो कोहीलाई पुनर्ताजगी हुन कुनै न कुनै माध्यमको सहारा लिनैपर्छ । सोहीअनुसार व्यक्तिको रुची र स्वभावअनुसार गीत, संगीत, घुमफिर, साथीभाइसंगको जमघट, खाइपिई, भलाकुसारी, खेलकूद, ब्यायाम, चलचित्र आदिको सहारा लिने गरिन्छ । त्यसबाहेक पुस्तक, पत्रपत्रिका पढ्ने, सिर्जना लेख्ने जस्ता अध्ययनशील स्वभावका मानिसहरुका रुची भित्र पर्दछन् ।
तथापि पछिल्ला समयमा जापानको नेपाली समुदायमा पुस्तक पढ्ने संस्कारमा कमी हुँदै जान थालेको आभास हुन थालेको छ । व्यस्तताको बीचबाट समय निकालेर आफ्नो रुचीको बिषयमा खर्च गर्नका लागि समयको कुशल ब्यवस्थापन हुनु आवश्यक हुन्छ । अझ पढ्ने भनेपछि धेरैजसोको बानी हराईसकेको र दैनिकीभित्र नपर्ने बिषय बन्दै गएको छ । एक अध्ययनका अनुसार पछिल्ला समयमा नेपालमा धेरै राम्रा राम्रा र गुणस्तरिय एवं पठनीय पुस्तकहरु प्रकाशन हुने गरेको भएता पनि सो अनुरुप पाठक बढ्न नसकेको बताईन्छ । अझ विदेशमा बस्ने नेपालीहरुमा त झन सबैको हातहातमा स्मार्टफोन भएपछि बिहान उठेदेखि राति निदाउने बेलासम्म प्राय:को खाली समय सामाजिक सञ्जाल तथा युट्युवमा बित्ने गरेको पाईन्छ । समय बिताउन र मनोरञ्जनका दृष्टिले केही हदसम्म त्यो ठीकै भएपनि आफ्नो लागि अद्यावधिक र अपग्रेड हुनका लागि त्यतिले मात्रै कदापि पुग्दैन । त्यहि समयलाई थोरै म्यानेज गरेर आफ्नो रुची तथा संलग्न क्षेत्रको बिधागत अध्ययन हुने पुस्तक पढ्ने बानी गरेमा ज्ञानगुणको भण्डार वृद्धि हुनुका साथै शब्द भण्डारमा चमत्कारिकरुपले बिकास हुन सक्छ ।
सामाजिक अभियान्ता, लेखक, पत्रकार, साहित्यकर्मी, कलाकार, राजनैतिक अगुवा, कार्यक्रम सञ्चालक जो कोहीका लागि बोल्न होस् या लेखनशैलीलाई राम्रो बनाउन शब्द भण्डार विशाल हुनु ज्यादै आवश्यक हुन्छ । त्यसैमा अझ भाषिक शुद्धता र मिठास जोड्न सके सुनमा सुगन्ध हुने नै भयो । साँगुरो शब्द भण्डारमा खेल्दा भनेजस्तो शब्द भनेको बेला भेटाउन जति गाह्रो हुन्छ त्यो भन्दा विशाल शब्द भण्डारमा खेल्दा अवश्य धेरै सहज हुन्छ ।
कतिपयमा आफुले के पढ्ने, कस्तो पुस्तक पढ्ने भन्ने बारेमा हेक्का नहुँदा र त्यस सम्बन्धि आवश्यक परामर्श गर्ने मेलोमेसो नपाउँदा पढ्ने बानी हराउँदै गएको देखिन्छ । जापानमा नेपालीहरुद्वारा सञ्चालित हजारौ रेष्टुरेन्ट छन् । रेष्टुरेन्टमा प्रयोग हुने जापानी भाषा सम्बन्धि पुस्तक पढे पनि आफैलाई काम लाग्ने हो । रेष्टुरेन्टमा नभई नहुने मेनु कस्तो बनाउने, कसरी बनाउने, कस्ता ग्राहकलाई लक्षित गर्ने जस्ता बिषयका पुस्तक खोजे बजारमा अवश्य पाईन्छन् ।
केही महिना अगाडी राजधानी काठमाडौंमा दिग्गज साहित्यकार तथा लेखक-विश्लेषकहरुको एउटा कार्यक्रम पुरै कुन कुन पुस्तक पढ्न सिफासिश गर्ने भन्ने विषयमा केन्द्रित थियो । त्यस कार्यक्रमको निचोडमा पढ्नैपर्ने दर्जनजति पुस्तकहरु छनौटमा परे । ति पुस्तकहरुमा योगमाया (उपन्यास), सिल्भर क्यासेज (कथा), मेरो मान्छे (कविता संग्रह), रोवोटको आँखा (कथा), यात्राको छहारी (नियात्रा), डायस्पोराका कथाहरु, रणहार (इतिहास), न्याय (आत्मवृत्तान्त), पाठशाला (उपन्यास), तनक्खा (नियात्रा संग्रह), प्रयोगशाला आदि थिए । यसबाहेक पत्रकारहरुका लागि समाचारको भाषा, हाम्रो भाषा, खोज पत्रकारिता अदालतमा लगायतका पुस्तक उपयोगी हुने सुझाव आएका थिए भने विश्व कीर्तिमानी बेष्ट सेलर पुस्तकहरु मध्यमा ’द म्याजिक अफ थिङकिङ बिग’, सेक्रेट आदि पढ्न सिफारिश गरिए ।
पुस्तक पढ्ने बानीले ज्ञान र शब्दको भण्डार मात्रै फराकिलो पार्दैन सकारात्मक सोच्ने र बिषयवस्तुको गहिराईमा पुगेर, छामेर त्यसबारे विश्लेषण गर्ने, आफ्नो धारणा निर्माण गर्ने एवं निर्णय शक्तिको बिकास हुने जानकारहरु बताउँछन् । अध्ययनशील बानीले सामान्य बोलीचालीमा होस् या सार्बजनिक अभिब्यक्तिमा आत्मबल बढाउन मदत गर्दछ । त्यसकारण पनि नियमित पुस्तक पढ्ने बानी गरौं । बचेखुचेको अमूल्य समयलाई बेकारमा खेर नफालौं । ***