काठमाडाैं – आफ्ना केही एन्ड्रोइड स्मार्टफोनमा भएका सुरक्षा त्रुटि पहिचान गरिदिनेलाई प्रविधि कम्पनी गुगलले न्यूनतम दुई लाख अमेरिकी डलर (दुई करोड ३० लाख नेपाली रुपैयाँ) देखि अधिकतम १५ लाख अमेरिकी डलर (१७ करोड २५ लाख रुपैयाँ) सम्म पुरस्कार दिने भएको छ ।
उक्त धनराशि प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको टाइटन एम सुरक्षा चिपमा त्रुटि फेला पार्नुपर्ने बीबीसीले जनाएको छ । त्यसो गर्दा केही निश्चित मापदण्ड पनि पूरा भएको हुनुपर्छ । सुरक्षासम्बन्धी विषयका शोधकर्ताहरूलाई सन् २०१५ पछि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम पुरस्कार दिइसकेको गुगलले बताएको छ ।
तर गुगलले दिने आर्थिक प्रोत्साहनले मानिसहरूलाई अपराधीहरूबाट पैसा लिन रोक्छ भन्ने कुरामा केही विज्ञहरू विश्वास गर्दैनन् । एपल, बजफीड, फेसबुक र सामसङ जस्ता कम्पनीहरूले पनि सुरक्षा त्रुटिबारे जानकारी गराउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेका छन् । अपराधीहरूलाई बेच्नुको साटो समस्या समाधान गर्न सकियोस् भनेर प्रविधि कम्पनीहरूले मानिसहरूलाई त्रुटिबारे जानकारी दिन आग्रह गर्ने गरेका छन् ।
त्रुटिबारे जानकारी दिनेलाई उनीहरूले आफ्नो ‘बग बाउन्टी’ योजनाअन्तर्गत पुरस्कृत गर्छन् । पिक्सल स्मार्टफोनमा टाइटन एम सेक्युरिटी चिप अपरेटिङ सिस्टमको रक्षा गर्न तथा फोन अन्लक गर्न प्रयोग गरिने बायोमेट्रिक डेटा राख्न बनाइएको हो ।