काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कप्तानबाट पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको जानकारी दिए । उनका अनुसार उपकप्तानको जिम्मेवारी युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ । पारसको आधिकारिक राजीनामा दुई दिनअघिमात्र पाएको क्यानले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो । तर, खड्काले राजीनामा फिर्ता लिन अस्वीकार गरेपछि क्यानले नयाँ कप्तान तोकेको हो ।
केही साताअघि बसेको क्यान कार्यसमिति बैठकले कप्तानबारे निर्णय गर्न अध्यक्ष चतुरबहादुर चन्द। महासचिव अशोकनाथ प्याकुरेलगायत पदाधिकारीलाई अधिकार दिएको थियो । आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्टै कप्तान पारस खड्काले राजीनामाको घोषणा गरेका थिए ।