काठमाडौं – एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल महासंघ (एन्फा) लाई ३५ हजार अमेरिकन डलर जरिवाना लगाएको छ । नेपाली फुटबलको इतिहासमै पहिलोपटक एन्फालाई एएफसीबाट यति ठूलो रकम जरिवानाको आदेश आएको हो ।
एएफसी कप २०१९ मा भाग लिन क्लबहरुलाई गलत तरिकाले लाइसेन्स दिएको भन्दै एन्फामाथि जरिवाना गराइएको हो । एन्फाले ९ वटा क्लबहरुलाई एएफसी क्लब लाइसेन्स दिएको थियो । एन्फाले अनुसन्धानका क्रममा एन्फाले लाइसेन्स दिएका ९ वटै क्लबहरुले आवश्यक मापदण्डको पालना नगरेको पाइएपछि कारवाही गरिएको एएफसीले जनाएको छ ।
एएफसीले तोकेको जरिवाना एन्फाले ३० दिनभित्र तिर्नुपर्नेछ । एन्फाले क्लब लाइसेन्सका लागि नेपालबाट मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबको नाम सिफारिस गरेको थियो ।