काठमाडाैं – जर्मनका पूर्व कप्तान तथा बार्यन म्युनिखका मिडफिल्डर वास्टियन स्वेन्सटाइगरले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । सन २००२ देखि २०१५ सम्म १३ वर्ष वार्यनमा विताएका उनले करिब ५ सय खेलमा ६८ गोल गरेका छन् ।
वार्यनमा रहँदा उनले ८ वुन्डेसलिगा, एक/एक लिग कप र च्याम्पियनस लिग दिलाएका थिए । सन २०१४ को विश्वकप विजेता जर्मन टिमको उनी मुख्य सदस्य हुन् । देशबाट १२१ क्याप जितेका स्वेन्सटाइगरले जर्मन टोलीका लागि २४ गोल गरेका छन् । विश्वकपपछि कप्तान फिलिप ल्हामले सन्यास लिएपछि उनले सन २०१६ सम्म जर्मन टिमको कप्तानी गरेका थिए ।
स्वेन्सटाइगर सन २०१५ मा वार्यन छाडेर इंग्लिस प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेडमा आवद्ध भएका थिए । युनाइटेडबाट ३५ खेलमा सहभागिता जनाउँदै एफए कप र युरोपा लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । २ सिजन युनाइटेडमा विताएपछि उनी अमेरिकन फुटबल क्लब सिकागो फायरबाट खेले । उनले सिकागोबाट ९२ खेलमा सहभागी हुँदै ८ गोल गरेका छन् । आइतबार ओरलान्डो सिटीमाथी ५-२ गोल अन्तरको जितपछि उनले व्यवसायिक फुटबलबाट सन्यास लिएका हुन् । ‘समय आइसकेको छ र म यस सिजनको अन्त्यमा मेरो सक्रिय करियर समाप्त गर्दैछु ।’
स्वेन्सटाइगरले ट्विटरमार्फत घोषणा गरे । उनले जर्मन राष्ट्रिय फुटबल टिम, पूर्व क्लबहरू, उनको परिवार र उनकी पत्नी पूर्व विश्व नम्बर एक टेनिस खेलाडी आना इभानोभिचलाई धन्यवाद दिएका छन् । ‘एक सक्रिय खेलाडीको रुपमा अलविदा भन्नु पर्दा मलाई उदास महसुस गराएको छ । तर चाँडै नै मेरो लागि उत्साहजनक चुनौतीको प्रतिक्षा गर्दैछु । म फुटबलप्रति सधै वफादार रहनेछु ’ उनले भने ।
स्वेन्सटाइगरले आफ्नो सन्यासपछिको योजना सार्वजनिक गरेका छैनन् । तर उनको संभावित गन्तव्य जर्मन फुटबल संघ हुन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले अनुमान गरेका छन् ।