काठमाडाैं – हङकङमा भइरहेको प्रदर्शनमा चीनले नै भ्रामक सूचना फैलाउने अभियान चलाएको आरोप लगाउँदै त्यसलाई नियन्त्रणका लागि ट्विटर र फेसबुकले ९ सय ३६ खाताहरु बन्द गरेको छ । ट्विटरले हङकङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने नौ सय ३६ खाताहरू हटाइएको बताएको छ ।
मुख्यभूमि चीनबाट सञ्चालित ती खाताहरू संगठित रूपबाट हङकङको राजनीतिक अवस्था र त्यसको वैधतालाई कमजोर पार्ने उद्देश्यबाट सञ्चालित भएको बताइएको छ । फेसबुकले पनि सातवटा फेसबुक पेज, तीनवटा ग्रूप र पाँचवटा खाता हटाइएको जनाएको छ। फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नथानियल ग्लेचर भन्छन्, ‘त्यहाँ बारम्बार स्थानीय राजनीतिक समाचार र खासगरी चलिरहेको हङकङको प्रदर्शनबारे लेखिन्थ्यो ।’
फेसबुकले यस्ता गतिविधि गर्नेहरुले आफ्नो पहिचान लुकाउन खोजेपनि अनुसन्धानमा उनीहरु चीन सरकारसँग सम्बन्धित रहेको देखिएको उल्लेख गरेको छ । यसैगरी फेसबुक र ट्विटरले ९ सय ३६ खाताबाहेक अन्य दुई लाखजति खाता अफवाह फैलाउने उद्देश्यले खोलिएको भए पनि तिनलाई प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको बताइएको छ ।