काठमाडौं – पछिल्ला केही दिन यता एउटा एप्स भाइरल भइरहेको छ । हालको उमेर भन्दा बूढो देखाउने फेसएपको प्रयोगले ब्यापकता पाएपछि यो भाइरल भएको हो ।
२०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल बनेको हो । मंगलबार र बुधबार नेपाली फेसबुक, ट्वीटर, इंस्टाग्राम प्रयोगकर्ताहरुले यो एप्सको निकै प्रयोग गरेका छन् ।
यसरी भाइरल बनेको यो एप्सले प्रयोगकर्ताहरुलाई भने जोखिमको मुखमा पुराइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दावी गरेका छन् । उनीहरुका अनुसार यो एप्सले तस्वीरलाई आर्टिफिसियल इन्टेलिजेन्समार्फत बूढो देखाउन तस्वीरको पूरा जानकारी अटोमेटिक सेभ गर्छ । साथै प्रयोगकर्ताको ब्राउजर, आईपी एड्रेस, वेब रिक्वेस्ट, यूआरएल र कतिपटक प्रयोग गरियो भन्ने समेत जानकारी रेकर्ड गर्छ । यो एप्सको प्रयोग सम्बन्धि शर्तहरुमा प्रयोगकर्ताहरुको फाइलबारे अटोमेटिक जानकारी लिने उल्लेख गरिएको छ । यसरी प्रयोगकर्ताहरुको डाटा यो एप्सले संकलन गर्छ । र विज्ञापनका लागि कुनै तेस्रो पक्षले माग गरेमा त्यस्तो डाटा दिन सकिने एप्सको नीति रहेको छ । यसले गर्दा प्रयोगकर्ताहरुबारे डाटा चोरी हुने जोखिम बढेको हो । केही विश्लेषकहरुले यो एप्स प्रयोग नगर्न सुझाव दिएका छन् । यसको प्रयोगबाट गोपनियता दुरुपयोग हुन सक्ने खतरा उनीहरुले दर्शाएका हुन । ***