काठमाडाैं – चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा घरेलु टिम ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
ब्राजिलको जितमा रोबर्टो फिरमिनो र ग्राबियल जेससले गोल गरे । १९ औं मिनेटमा जेससले गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा फिरमिनोले ब्राजिलको अग्रता दोब्बर पारे । योसँगै विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको देशका लागि उपाधि जित्ने लक्ष्यमा फेरि धक्का लागेको छ ।
अर्जेन्टिना कोपा अमेरिकाको पछिल्लो पाँच मध्ये चार संस्करणको फाइनलमा पुगेको थियो । तर एक पटक पनि उपाधि जित्न सकेको थिएन । अर्जेन्टिना सन् १९९३ यता उपाधिविहीन छ । सन् २०१४ को विश्वकपको फाइनलमा पुगे पनि अर्जेन्टिना उपाधि जित्न भने असफल भएको थियो ।
अब उपाधिका लागि ब्राजिलले बिहीबार चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल २००७ पछि कोपा अमेरिकाको उपाधि जित्ने लक्ष्यमा छ ।