काठमाडाैं – दक्षिण कोरियाले ५ जी मोबाइल नेटवर्क सुरु गरेको छ । स्थानीय समयअनुसार बुधबार राती ११ बजे सियोलमा ५ जी सेवा लन्च गरेसँगै दक्षिण कोरिया ५ जी सेवा लन्च गर्ने विश्वकै पहिलो देश बनेको छ ।
यसको लन्चिङका लागि ५ अप्रिल तय गरिएको थियो तर अमेरिकी कम्पनीलाई पछि पार्न दुई दिन अगाडि नै सेवा सुरु गरियो । ४ जीको तुलनामा ५ जी २० गुणा छिटो चल्न सक्छ । दक्षिण कोरियाका ३ वटा टेलिकम कम्पनी एसके, केटी र एली युप्लसले यसलाई राष्ट्रव्यापी बनाउने योजना सुरु गरेका छन् । ५ जी सर्भिस पहिलो पटक दक्षिण कोरियाका ६ सेलिब्रेटी फोनमा एक्टिभ गरिएको थियो ।
५ जीको सर्भिसले देशका स्मार्ट सिटी र ड्राइभरलेस कारजस्ता क्षेत्रको विकासमा सहयोग पुग्ने र अर्थतन्त्र मजबुत हुने विश्वास दक्षिण कोरियाको छ । ५ जी सेवा सबैभन्दा पहिला सुरु गर्न दक्षिण कोरिया, चीन र अमेरिका रेसमा थिए । अमेरिकाको टेलिकम कम्पनी भेराइजनले ११ अप्रिलमा दुई शहरमा ५ जी सर्भिस सुरु गर्नेछ । चीनमा पनि यसको ट्रायल भइरहेको छ ।