काठमाडौं – दक्षिण कोरियाली मोबाइल जाइन्ट सामसुङले फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको छ ।
यस्तै सामसुङले फाइभ जी ग्यालेक्सी एस टेन र ग्यालेक्सी एस टेनका अरु तीन मोडलका स्मार्टफोन सार्वजनिक गरेको हो ।
फोल्ड गर्न मिल्ने ग्यालेक्सी फोल्ड अबको दुई महिनाभित्र बजारमा जानेछ । यस्तै सामसुङले ल्याएको ग्यालेक्सी एस टेन फाइभ जी अहिलेसम्मकै भव्य फिचरसहितको फोन हो ।
फाइभ जी नेटवर्क उपलब्ध भएपछि यो फोनको डाटा स्पीड तीव्र हुनेछ । ग्यालेक्सी एस टेनमा कम मूल्यका अरु मोडलहरु पनि छन् ।
ग्यालेक्सी फोल्डमा स्क्रिनलाई ओपन अप गरेर ७.३ इन्चको बनाउन सकिने छ । यो फोनमा तीनवटा एप एकैसाथ चलाउन मिल्छ । यो फोनमा ६ वटा क्यामरा छन् । तीनवटा पछाडि, दुईवटा भित्र र एउटा अगाडि ।
ग्यालेक्सी फोल्डको फोर जी संस्करण आउँदो अप्रिल २६ मा बजारमा उपलब्ध हुनेछ । यसको मूल्य १९ सय ८० अमेरिकी डलरदेखि सुरु हुनेछ । सामसुङले फोल्ड फोनलाई लग्जरी आइटम भनेको छ।