काठमाडौं – एमालेले बहुजातीय पहिचानका ७ प्रदेशको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको छ । राज्य पुनःसंरचना, तत्कालीन राजनीतिक निकास र संविधानसभामा पार्टीले खेलेको भूमिकालगायत विषयमा छलफल गर्न बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा नामसहितका सात प्रदेशको नाम स्थायी समितिका तर्फबाट प्रस्तुत गरिएको हो ।
प्रस्तावित प्रदेशमा किरात लिम्बुवान कोसी, मिथिला भोजपुरा जनकपुर, तम्सालिङ, नेवाः बागमती, अवध थरुहट लुम्बिनी, मगरात तमुवान गण्डकी, भेरी, कर्णाली र सेती महाकाली रहेका छन् । सामर्थ्य र पहिचानका आधारमा साझा पहिचानका प्रदेश बनाउने नीतिगत निर्णय गरे पनि प्रदेशको संख्या र नामका विषयमा एमालेले आधिकारिक निर्णय अहिलेसम्म गरेको थिएन ।
एकल जातीय पहिचानको माग गर्दै उपाध्यक्ष अशोक राईसहित जनजाति नेताहरूले असन्तुष्टि जनाइरहेका बेला केन्द्रीय कमिटी बैठकमा बहुजातीय पहिचानका ७ प्रदेशको प्रस्ताव आएको हो । प्रदेशहरूको सीमा निर्धारण गर्न भने विज्ञहरूको आयोग बनाउनुपर्ने एमालेको धारणा छ ।
मंगलबार सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला र फागुनको अन्तिम साता सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकले पनि बहुजातीय पहिचानका प्रदेश बनाउनुपर्ने सुझाव पार्टीलाई दिएको थियो । मंगलबार सम्पन्न कार्यकर्ता भेलामा अधिकांश कार्यकर्ताले बहुजातीय पहिचानका सात प्रदेशको अवधारणा केन्द्रीय कमिटीबाट तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको थियो । भेलाको सुझाबअनुसार स्थायी समितिका तर्फबाट बिहीबारको केन्द्रीय कमिटी बैठकमा सात प्रदेशका अवधारणा प्रस्तुत गरिएको हो ।
यस्तै, तत्कालीन राजनीतिक निकासका विषयमा भने एमालेले संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठन गरी संविधानमा रहेका बाधा अड्काउ फुकाएर नयां चुनावमा जानुपर्ने अवधारणा बैठकमा प्रस्तुत भएको छ ।
राज्य पुनःसंरचना र तत्कालीन राजनीतिक निकासमा प्रस्तुत अवधारणाका विषयमा बिहीबार १४ केन्द्रीय सदस्यहरूले आ–आफ़्नो धारणा राखेका थिए । बिहीबार उपाध्यक्ष वामदेव गौतम, राजेन्द्र पाण्डे, काशीनाथ अधिकारी, योगनारायण यादव अष्टलक्ष्मी शाक्य, कर्णबहादुर थापालगायत नेताले बोलेका थिए । यस्तै, संविधान बन्न नसकेका विषयमा श्वेतपत्र जारी गर्न एमालेले अध्ययन कार्यदल बनाउने प्रस्ताव पनि केन्द्रीय कमिटीमा प्रस्तुत गरेको छ । सचिव शंकर पोखरेलको संयोजकत्वमा गठन प्रस्ताव गरिएको कार्यदलमा प्रदीप ज्ञवाली, भीम रावल, बिन्दा पाण्डे, रघुवीर महासेठ, थममाया थापा र अग्नि खरेल सदस्य छन् । संविधानसभाले गरेका काम र पछिल्लोपटक संविधानसभाको विघटन हुने अवस्थासम्मको सम्पूर्ण अध्ययन गरी श्वेतपत्र जारी गर्ने एमालेले जनाएको छ । ***