Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – चोटपटक जहिले पनि अचानक लाग्ने गर्छ । बालबालिकालाई मात्र नभएर जोकोहीलाई पनि आँखामा चोट लाग्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दुर्घटना भनेको कुनै अप्रिय आकस्मिक घटना हो । अझ आँखामा त सानो चोट लाग्दा पनि ठूलो क्षति हुन सक्छ ।

लक्षण
आँखामा पीडा हुनु,
दृष्टिमा कमी आउनु,
आँखाबाट पानी बग्नु,
आँखा रातो हुनु, बिजाउनु,
आँखा खोल्न गाह्रो हुनु,
आँखा सुन्निनु, नीलडाम बस्नु,
आँखा पोल्नु आदि ।

सल्लाह
आँखामा अचानक बाहिरी कुनै वस्तु, धातु, सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माड्नु हुँदैन ।

ऐनामा आफैँ हेर्ने वा कुनै सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ । यसो गर्दा कुनै वस्तु आँखाको सेतो भागमा देखिन्छ वा देखिँदैन । यसो गर्दा आँखाको तल–माथिको परेला च्यातेर तल–माथि हेर्ने, दायाँ–बायाँ हेर्ने, बारम्बार आँखा झिम्क्याउने तथा चिसो पानी आँखामा छ्यापेर पानीमा टाउको डुबाएर आँखा खोल्दा त्यस्ता वस्तु निस्कन पनि सक्छ ।

आँखामा परेको बाहिरी वस्तुलाई निकाल्न या हटाउन चिमोट्ने, औँलाको नङ या कुनै सिन्काको प्रयोग गर्नुहुँदैन ।

निकै पीडा भएमा या निकै ठूलो चोट लागेको अनुभव भएमा जतिसक्दो छिटो आँखा विशेषज्ञलाई देखाई उपचार गर्नुपर्छ ।

समयमै उपचार गराएमा आँखालाई अरू बढी नोक्सान हुनबाट बचाउन सकिन्छ ।

आँखामा कटन आइप्याड लगाएर तुरुन्त आँखाको डाक्टरलाई भेट्न सकेमा राम्रो हुन्छ ।

बालबालिका हो भने आँखामा चोट लागेपछि पेट खाली राख्नुपर्छ । किनभने, चिकित्सा प्रक्रियाअन्तर्गत अप्रेसन गर्नुपर्नेसम्मको अवस्था पनि आउन सक्छ ।

यसै गरी रङरोगनको काम गर्दा या घरमा कुनै केमिकलले साङ्ला या लामखुट्टे भगाउँदा या कुनै स्प्रे गर्दा भूलवश आँखामा पनि पर्न सक्छ । यस्तो अवस्थामा बिरामी शान्त भएर बस्नुपर्छ । तर, आँखा रुमालले पुछ्ने, आँखा माड्ने, आँखामा पट्टी बाँध्ने वा चिम्लिने गर्नुहुँदैन । यसो गर्नाले रसायन आँखाको भित्री सतहसम्म पुगी थप क्षति बेहोर्नुपर्ने हुन सक्छ ।

यस्तो प्रकारको घटनामा लगातार १५–३० मिनेटसम्म शुद्ध पानीले आँखा सफा गर्नुपर्छ ।

खेलका क्रममा चोटपटक लागेमा अवस्थामा रुमाल या तौलियामा आइसको एउटा सानो टुक्रालाई बेर्ने र प्रभावित आँखामा हल्का सिक्नुपर्छ । तर, आँखामा सोझै बरफको टुक्राले सेक्नु भने हुँदैन ।
आँखावरिपरि चोट लागी नीलडाम बसेको छ भने सो दाग हटाउनका लागि अर्को दिन गर्म सेकको उपयोग गर्न सक्नुहुन्छ ।

यति गर्दा पनि आराम नभएमा आँखा खोल्न गाह्रो भएमा, आँखा दुखिरहेमा या हेर्दा धमिलो देखिएमा आफ्नो नजिकको आँखा अस्पतालमा तुरुन्तै जाँच गराउनुपर्छ ।

प्राथमिक उपचार
आँखाको चोटपटकबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको कुनै पनि काम गर्दा सतर्कता अपनाउनु नै हो । यस्तो अवस्थामा विभिन्न प्राथमिक उपचार विधि अपनाउन जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया