आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

दरबाङ, म्याग्दी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) को यसै साता दरबाङ बजारमा सम्पन्न दोस्रो महाधिवेशनले चक्रबहादुर थापाको नेतृत्व चयन गर्दै नयाँ अन्तर्राष्ट्रिय कार्यकारी समिति सर्बसम्मत गठन गरेको छ । पश्चिम म्याग्दीको धारापानी निवासी थापा लामो समयदेखि न्युजिल्याण्डमा रहँदै आएका छन् । मोनाको कोषाध्यक्ष रहेर सक्रिय भूमिका निभाउँदै आएका थापाको काँधमा दोस्रो कार्यकालको गहन जिम्मेवारी आएको हो ।

यसैगरी महाधिवेशनबाट मोनाको बरिष्ठ उपाध्यक्षमा राधिका गुरुङ (हङकङ), उपाध्यक्ष-त्रयमा ओमनारायण जुग्जाली (दक्षिण कोरिया) र योगकुमार फगामी (बेलायत), प्रेम रसाईली (कतार) चुनिएका छन् भने महिला उपाध्यक्षमा भुगोल शेरचन (बेलायत), महासचिबमा मिम पुर्जा (नेदरल्याण्ड), सचिबमा हरि राम्जाली (अष्ट्रेलिया), विक्रम कार्की (कतार), कोषाध्यक्षमा रामबहादुर खड्का (जापान) र सह-कोषाध्यक्षमा लोकनाथ पौडेल (न्युजिल्याण्ड) चयन भएका छन् ।
यसैगरी मोनाको युरोप क्षेत्रीय संयोजकमा लक्ष्मण गर्वुजा, एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा ददिवल खड्का, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजकमा ताराबहादुर कार्की, अमेरिका क्षेत्रीय संयोजकमा ताराप्रसाद पुन, महिला संयोजकमा पूर्णिमा पाईजा चयन भएका छन् ।
महाधिवेशनमा २२ राष्ट्रबाट प्रवासी म्याग्देलीहरुको उत्साहजनक प्रतिनिधित्व रहेको महासचिव घनश्याम शाही ठकुरीले बताए | महाधिवेशनको अवसरमा जापानी बिशेषज्ञहरुद्वारा स्थानीय जनप्रतिनिधीहरुलाई प्राकृतिक प्रकोपका बेला बिपत्ति ब्यवस्थापन सम्बन्धि प्रशिक्षण पनि दिईएको मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले बताए । उक्त प्रशिक्षण मोना जापानको पहलमा भएको थियो ।

दरबाङ पुगेर एनआरएनका नेताहरुले के भने ?
तीनदिनसम्म चलेको मोनाको दोस्रो महाधिबेशन सहितको बिश्व सम्मेलनको एनआरएनएका अध्यक्ष शेष घलेले समुदघाटन गरेका थिए । समुदघाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै घलेले बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई एनआरएनले नेपालको समृद्धिमा परिचालन गर्न चाहेको बताए । यसैगरी संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालको राजनैतिक परिवर्तन पछि बिकास र समृद्धिको अभियानमा गैरआवासीय नेपालीहरु सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । यसैगरी उपाध्यक्ष भवन भट्टले नेपालमा प्रवासीको लगानी भित्र्याउन र समृद्धिको अभियानमा समन्वय र सहकार्य गर्न आफुले एनआरएनको नेतृत्व लिन चाहेको बताए ।

जनप्रतिनिधीहरुको मोनाप्रतिको अपेक्षा
समारोहमा जिल्लाका सांसद त्रय नवराज शर्मा, नरदेवी पुन र रेशम बानियाँले म्याग्दीको जलबिद्युत, पर्यटन, कृषि क्षेत्रको बिकासमा लागि लगानी भित्र्याउन पहल गर्न प्रवासी म्याग्देलीहरुलाई आग्रह गरे । यसैगरी जिल्लाका स्थानीय तहका जनप्रतिनिधीहरुले बिदेशमा आर्जेको सीप र पुँजीलाई जिल्लामा भित्र्याउन आग्रह गरे । जिल्लामा १ बेनी नगरपालिका र अन्नपूर्ण, राहुगंगा, धौलागिरी, मालिका र मंगला गरी ५ गाउंपालिका रहेका छन ।

मोनाका जिम्मेवार नेताहरुको भनाई
मोनाका अध्यक्ष योगेन्द्र क्षेत्री, संरक्षक प्रकाश पुन, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, मोनाका वरिष्ठ उपाध्यक्ष बिनोद कुँवरले लगानी भित्र्याउनका लागि नीतिगत ब्यवस्था र अनुकुल वातावरण सहित लगानी सुरक्षाको प्रत्याभूती हुनुपर्नेमा जोड दिए ।

को को पुगेका थिए दरबाङ एनआरएनका अभियान्ताहरु ?
महाधिवेशनको उदघाटन समारोहमा जमुना घले, कुल आचार्य, रञ्जु वाग्ले, त्रिलोक गुरुङ, अर्जुन श्रेष्ठ, रोविन्द श्रेष्ठ (गोविन्द), चिरिन्जीवी थापा, नरबहादुर थापा लगायतका अन्य एनआरएन अभियान्ताहरुको पनि उपस्थिति थियो । एनआरएनको आठौं महाधिवेशनको पूर्व सन्ध्यामा बिभिन्न पदका आकाँक्षीसमेत रहेका उनीहरु हेलिकोप्टर चार्टर गरेर म्याग्दीको दरबाङ पुगेका हुन् ।

८ बूँदे दरबाङ घोषणा पत्र जारी, के छ घोषणा पत्रमा ?
८ बूँदे दरबाङ घोषणा पत्र जारी गर्दै मोनाको दोस्रो महाधिवेशन मंगलबार समापन भएको छ । घोषणा पत्रमा स्थानीय निकायको प्रत्यक्ष सहभागिता रहने गरी हाईड्रो, पर्यटन, कृषि, जडिबुटी उत्पादन, स्वरोजगार, पशुपालन, खनिज उत्खनन लगायतका क्षेत्रमा लगानी जुटाउने, बालबालिका, एकल महिला तथा पिछडिएका वर्गको हितका लागि अक्षय कोष खडा गर्ने, प्रवासी म्याग्देलीहरुलाई एकजुट गराई एकद्वार प्रणालीमार्फत जिल्लामा सहयोग भित्र्याउने, जिल्लाका मौलिक कला सँस्कृतिको संरक्षण गर्नुका साथै कलाकर्मी तथा खेलाडिहरुलाई प्रोत्साहित गर्ने, मालिका गाउँपालिकाको दरबाङ बजार र जनप्रिय माबिको खेलमैदानलाई म्याग्दी नदीको कटानबाट संरक्षण गर्न आर्थिक सहयोग जुटाउने लगायतका बिषयहरु उल्लेख छन् ।

२०१५ को अक्टोबरमा म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा उत्साहजनक ढंगले सम्पन्न भएको प्रथम महाधिवेशनले जारी गरेको १८ बूँदे घोषणा पत्र बमोजिम के कति कार्ययोजनाहरु सम्पादन भए वा हुन सकेनन्, त्यसतर्फ पनि मोनाका जिम्मेवार नेतृत्वले गम्भीर समीक्षा गरिनुपर्ने जिल्लाबासीहरुको अपेक्षा छ भने दरबाङ घोषणा पत्रलाई घोषणा पत्रमा मात्रै सीमित हुन नदिन नयाँ नेतृत्वले दुई वर्षे कार्यकालको स्मार्ट कार्ययोजनाहरु यथाशिघ्र तर्जुमा गरिनुपर्ने देखिन्छ । ***
फोटो सौजन्य : कमल खत्री, बेनी

तपाईको प्रतिक्रिया