काठमाडौं – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मंगलबार ब्रुनाइसँग खेल्नेछ ।
नेपाल र ब्रुनाइबिचको खेल मलेसियाको सारावाकमा रहेको रंगशालमा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे सुरु हुनेछ । यो खेलले सेमिफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ ।
पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल यो खेलमा ४–० भन्दा कम गोलअन्तरमा हारे पनि सेमिफाइनलमा पुग्ने छ । ब्रुनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले हराएको थियो ।
नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले टिमोर लिस्टेले पहिलो खेलमा गोलरहित बराबरी खेले पनि ब्रुनाइसँगको खेलका लागि आफूहरु तयार रहेको बताएका छन् । सात देश सहभागि प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।