Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त रहेपछि साना दलको दौडधुप बढेको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा नआउने निश्चितजस्तै भएपछि साना दल र तिनका नेताहरु मन्त्री बन्न हतारिएका आजको राजधानी दैनिकमा खबर छ । उनीहरुले दशैंअगावै आफूहरुलाई मन्त्री बनाउन पनि दबाब दिइरहेका छन् । अहिले महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ र पशुपन्छी मन्त्रालयसहित चार मन्त्रालय खाली छ । मन्त्री बन्नका लागि साना दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर भेट गरी दबाब दिँदै आएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका विजयकुमार गच्छदारको दल फोरम लोकतान्त्रिकले पनि सरकारमा जान दबाब बढाइरहेको छ । पटक पटक मन्त्री र उपप्रधानमन्त्री बनेका गच्छदार स्वयंले उपप्रधानमन्त्रीसहित सरकारमा आउन ठूलै शक्ति प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा उनलाई सरकारमा ल्याउन सकारात्मक देखिएका छैनन् । तर, दाहाल र देउवा फोरम लोकतान्त्रिकलाई दुई ओटा मन्त्रालय भने दिन तयार देखिएका छन् ।

उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालय पाएको खण्डमा आफै सरकारमा जाने, नपाए पार्टीबाट सरकारमा कसैलाई नपठाउने गच्छदारको भनाइले उहाँको पार्टीभित्र अहिले चर्को विवाद छ । पार्टीले पाएको दुई ओटा मन्त्रालय लिएर सरकारमा जानुपर्ने अडान राख्दै फोरम लोकतान्त्रिकका वरिष्ठ नेता रामेश्वर राय यादव र जीतेन्द्र देवलगायतका नेताहरुहरु गच्छदारविरुद्ध खुलेरै लागेका छन् ।

यसले फोरम लोकतान्त्रिकभित्र चर्को विवाद जन्मेको छ ।

तपाईको प्रतिक्रिया