काठमाडौँ – सरकारले संविधान दिवसका अवसर पारेर विभिन्न जेलमा रहेका ५ सय ३७ जना कैदीको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय गरेको छ । उनीहरू आज कैदबाट छुट्ने छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, सङ्गठित अपराध, भ्रष्टाचार लगायत गम्भीर प्रकृतिको अपराध बाहेकका कार्य्विधिले तोकेअनुसारको कैद सजायँ काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो । यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो ।
सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ । बैठकले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा र अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कामु सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा दाहालको आफ्नो भारत भ्रमणको उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।