काठमाडौँ – झन्डै एक महिनाको कसरतपछि सरकारले शुक्रवार गरेको सयौँ कर्मचारीको सरुवा विवादमा तानिएको छ । सरुवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरुपयोग गरिएको स्रोतले जनाएको छ ।
त्यसका लागि कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयमै गएर सचिव पूर्णचन्द्र भट्टराईलाई घेराउ गरेका थिए । सरकारले शुक्रवार ७ सय ९२ जना कर्मचारीको सरुवा गरेको हो । भदौ मसान्तसम्म अन्तर मन्त्रालय कर्मचारी सरुवा गर्नुपर्ने निजामती सेवा नियमावलीको संशोधित प्रावधान अनुसार सामान्य प्रशासन मन्त्रालयले सयौँको सङ्ख्यामा कर्मचारी सरुवा गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
अधिकांश कर्मचारीले भीडभाडसँगै अतिरिक्त कमाइ हुने, पदीय पहुँच र प्रभाव देखाउन पाउने र बजेट परिचालन गर्न पाउने मालदार मन्त्रालय र निकायमा सरुवा हुन सामान्य मन्त्रालयमा प्रयास गरेका थिए । सोही अनुसार राजनीति आस्था, पहुँच र प्रभावका भरमा सयौ कर्मचारीको सरुवा गरिएको कर्मचारी वृत्तमा चर्चा छ ।