काठमाडौँ – १३ औँ निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् । ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूलनाराका साथ आज दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा बिहान प्रभातफेरी र्याली निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, न्युरोड, रत्नपार्क हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेको थियो । प्रभातफेरीमा मुख्य सचिव डा सोमलाल सुवेदी, सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराई लगायत सबै सचिवको उपस्थिति थियो । र्यालीमा निजामती कर्मचारीको सहभागिता थियो ।
यसै गरी, प्रभातफेरीमा आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनलगायत कर्मचारी सङ्गठनको पनि सहभागिता थियो । आजै, प्रज्ञा भवनमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यमा विशेष कार्यक्रम हुने भएको छ ।
दिवसकै अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सर्वोकृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिनु हुनेछ ।