Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुग्नुभएको छ । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुग्नुभएको हो ।

उँहा मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुग्नुभयो । मन्त्री चढेको हेलिकोप्टर अवतरण हुँदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् ।

‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भन्नुभयो, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडक–भडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उहाँले टिप्पणी गर्नुभयो । अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् ।

तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भन्नुभयो, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुने थियो ।’

तपाईको प्रतिक्रिया