शुरुमा जापान आउँदा वित्तिकै फुकुओकाको नागाजुमीस्थित निशीनिहोन बैंकमा खाता खोल्न गएँ । भर्खर जापान आएकोले भाषा खासै बुझ्ने र बोल्ने भईसकेको थिईन । हामी ‘देस’ ‘मास’ मात्र पढेर आएका, कुनैपनि वाक्यको अन्तिममा ‘का’ आयो भने प्रश्न गरेको हुन्छ भनेर पढेका जापान आएपछि सडकमा थापिएका पसलेको भाषा सुनेरै जिल्लिएका थियौं, हामीले त केही जानेकै रहेनछौं । छेउटुप्पो मेसोमेलो नै नपाउने । अर्को कुरा पढेर व्यवहारमा ल्याउन बानी नपरुञ्जेल अप्ठेरो त हुने भई नै हाल्यो तैपनि आधा नेपाली आधा जापानीमै भएपनि कुरा गरेर खाता खोल्नुपर्यो भनेर स्कुल सकिनासाथ बैंकतिर दगुरें । आफैले नगरे कसले गरिदिने त ? स्कुलका शिक्षकहरु व्यस्त, सेन्पाई (सिनियर) हरु नेपालबाट ल्याएको भट्ट र सुकुटी हुञ्जेल नजिकिए त्यसपछि टाढा-टाढा र टेढों-टेढों । ४५ जनाको जम्बो टोलीपछि तुरुन्तै हामी १८ जनाको टोली जापान आएको अघिल्लो टोलीको पालो नआई हामीले काम पाउने कुरै भएन । कसैकसैको आफन्त हुनेहरुले भने हल्का फुल्का येन छाप्न शुरु गरिसकेका थिएः नातावाद, कृपावाद, जिन्दावाद । आफू त कतैबाट कसैसँग केही बेचेको पनि साइनो नभएको न परें तुरुन्तै काम पाउने कुरा पनि त भएन ।
त्यही बेलामा त हो हामीलाई आवुरा यामा (पहाड) मा चरो लखेट्ने, सुकेको रंगीन पातहरुमा चिप्लेटी खेल्ने मौका मिलेको । अहिले पनि ताजै छ, आबुरा यामामा तारा हान्ने खेल खेलेको, त्यही पहाडको फेदैमा रहेको चर्चमा गएर उदोन खाएको । काम नभएको समयमा सकेसम्म धेरै बैंकको खाता खोलेर राख्नुपर्छ भनेर एकजना सेम्पाईले सुकुटी चपाउँदै सुझाएको अझै विर्सेको छैन । बैंकमा गएर के-के भनें अहिले केही याद छैन तर काउन्टरमा गएर ‘एकाउन्ट चुकुरीताई’ भनेको याद छ । अहिले अलि बुझ्ने भएपछि त्यतिबेला यसै भनेका रहेछन् भन्ने लाग्छ । बैंकको एकजना महिला स्टाफले के-के बरबराई पुरै बुझिएन । अलिअलि बुझिए अनुसार एउटा फारममा शिसा कलमले घेरो लगाउँदै यहाँ नाम, यहाँ ठेगाना अनि यहाँ फोन नम्बर लेख्नु भनेको बुझें । शुरुमा अलमल परेको थिएँ । हामीले नेपालमा भाषा पढ्दा सिकेका केही शब्दमा अगाडि ‘ओ’ र ‘गो’ थपेर कुरागरेपछि हामी अलमल्लमा नपर्ने कुरै पनि भएन । बाटो भुलेर हराईएला भनेर होस्टेल र स्कुलको ठेगाना एउटा सानो कागजको चिर्कटोमा अंग्रेजी र जापानीमा लेखेर सँधै मनिव्यागमा हालेर हिड्ने गरेको थिएँ-फुकुअोका केन, फुकुअोका सी, मिनामी कु…., त्यही सारें । फोन नम्बर घोकेर कण्ठ पारेको थिएँ । नाम, ठेगाना र फोन नम्बर लेखेर युद्ध जितेको सिपाही झैं गमक्क परें, मलाई बैंकको महिला स्टाफले एकैछिन पर्खन भनी-सायद उनले भित्र लगेर मेरो खाता बनाउँदै थिईन । एकैछिन फुर्सद मिलेको बेला मैले सोचें-भाषा जानेको मान्छेको लागि त्यो फारममा बुझिने गरी नाम, ठेगाना, फोन नम्बर भनेर स्पष्ट लेखिएको छ तर के गर्नु आफूलाई जापानी अक्षर पढ्न आउँदैन त्यसैले त उनले शिसाकलमले घेरो लगाएरै यहाँ नाम लेख, यहाँ ठेगाना लेख अनि यहाँ फोन नम्बर लेख भनेर भनिन् त । मलाई एकैछिनमा सबै अक्षर पढ्न लेख्न जान्ने बन्न मन लाग्यो । यदि सम्भव हुँदो हो त दुइचार दिनमै फरर… आउने गरी दवैको क्याप्सुल खान्थें र सिपालु हुन्थें । तर त्यो कहाँ सम्भव थियो र ? त्यहीबेला ३५-३६ जति उमेरकी अर्को एकजना जापानी महिला आएर मेरै आडको कुर्सीमा बसिन् । उनले के-के भनिन् त्यसपछि बैंकको अर्को कर्मचारीले उनलाई पनि मलाई दिएको जस्तै रंगको र साइजको फारम अगाडि राखिदिईन अनि शिसा कलमले घेरो लगाई अनि के-के फुसफुसाइन् । मलाई लाग्छ उनलाई पनि यहाँ नाम, यहाँ ठेगाना र फोन नम्बर लेख्नु भनेकी होलिन् -मलाई जस्तै । त्यो घटनाले मलाई धेरै सोच्न वाध्य बनायो । हरेक नागरिक साक्षर रहेको जापानमा ३५-३६ वर्ष उमेरकी ती महिला पक्कै नपढेकी भने होइनन् । उनी जापानी भएको हुनाले उनले जापानी अक्षर पढ्न लेख्न पक्कै जानेकी छिन् तर उनलाई पनि कत्ति केही नजानेको म जस्तै गरेर शिसाकलमले घेरो लगाउँदै यहाँ-त्यहाँ भनेर किन देखार्इन ? भाषा नजानेको मान्छे त्यति बेलै किन ? भनेर सोधखोज गर्ने कुरै भएन ।
आफ्नो काम सकाएर म फेरि स्कुलमा नै फर्किएँ । कौतुहलता मेटाउन नेपाली शिक्षकलाई उक्त कुरा बताएँ । उहाँले भन्नुभयो-‘यो जापानको सर्भिस हो । चाहे बुझ्ने होस्, या त नबुझ्ने, चाहे जान्ने होस् यात नजान्ने सबैलाई वरावरी सेवा ।’ त्यही दिन नै थियो जापानमा मैले ग्राहक सेवा सम्बन्धी सिकेको पहिलो र गतिलो शिक्षा । त्यही दिनदेखि हरेक क्षण मेरो मानस्पटलमा त्यही कुरा नाचिरहन्छ अनि मनमनै सलाम गर्छु ‘वाह ! क्या छ जापानको ग्राहक सेवा, सम्मान र सत्कार ।’ तपाईले पनि देख्नुभएकै होला- कुनै पसलमा सामान हेर्न जानुभयो, नकिनीकनै फर्कनुभयो, तैपनि उनीहरु कति हँसिलो पाराले आएर हेरिदिनुभयो धन्यवाद भन्छन् -जापानीमा ।
अब लागौं नेपालतिर । नेपालमा हालै विभिन्न ठाउँमा ठूलाठूला सपिङ्ग मलहरु खुलेका छन् । घुमौं, हेरौं, केही आवश्यक परे किनेर पनि ल्याउँ भनेर एक प्रख्यात मलमा छिरें । प्रायजसो कर्मचारीहरु फोनमा नै झुम्मिएका थिए । कोही तीजमा के लाउने र के खाने भनेर कुरा गर्नमा नै व्यस्त । ग्राहक आओस, जाओस कुनै प्रतिक्रिया नै छैन । के गर्ने त यस्तै हो यहाँ भनेर केही सामान बोकेर काउन्टरतिर गएँ । काउन्टरमा त्यो महिला कर्मचारीले मैले किन्न लागेको सामान मिल्काएको देख्दा एकदमै नरमाइलो लाग्यो । अति नै भएर मैले बहिनी त्यसरी नमिल्काउनुस् न भनें । उल्टै उनले भनिन् – ‘सामान मिल्काउँदा तपाईलाई दुख्यो ?’ मलाई पनि अलिअलि रिसै उठ्यो र भनें-हो मलाई दुख्यो, यो सामान मैले किन्न गईरहेको छु, केही बेरमा मैले पैसा तिरेपछि यो सामान मेरो हुने वाला छ अनि मेरै अगाडि मेरै हुने वाला सामानलाई त्यसरी मिल्काउँदा मलाई दुख्दैन ? यही हो तपाईहरुको सर्भिस ? मैले यति भनेपछि उनको गाला रछायँ-रछायँ भयो केही बोलिनन् । म पैसा तिरेर सामान लिएर हिडें । उनले पसलमा हरेक दिन आउने म जस्तो ग्राहकलाई हँसिलो भएर धन्यवाद भन्दा उसको के जान्छ? विना लगानीमा दिन सकिने सर्भिस हुन यी भनेको जसले गर्दा भोलिका दिनमा पनि त्यही पसलमा किनमेल गर्न जाउँ जाउँ लागोस् । उनले हँसिलो अनुहार बनाउँदा, नरम बोली बोल्दा के उनको साहुजीको त्यो व्यवसायमा लगानी बढ्छ ? अथवा पसल घाटामा जान्छ ? सामान हेरेर नकिनिकन फर्कियो भने रिसाउँछन् कति पसलमा त । यस्ता कुराहरुमा सम्बन्धित निकायको ध्यान जाने, सुधार हुने कहिले हो नेपालमा ?
अर्कोदिन, साधारणतय हामी विदेशमा बस्नेहरुको ६ महिनासम्म खाता चालु अवस्थामा नभए बैंकले हाम्रो खाता निस्कृय बनाउँदो रहेछ । एकदिन खाता सक्रिय बनाउन पर्यो भनेर बैंकमा गएँ । आइतवारको दिन भएकोले भिड निकै थियो । सर्भिस काउन्टरमा तीनजना अल्लारे युवतीहरु थिए-काम भन्दा कुरा धेरै । मैले मेरो समस्या राख्न नपाउँदै तीन मध्येकी एकले धमिलिएर के-के लेखिएको छ भनेर बुझ्नै नसकिने किरेमिरे अक्षरहरु लतपतिएको एकपाना कागज दिएर यो भर्नुस्, फोटो अनि नागरिकताको फोटोकपी चाहिन्छ भनिन् । मैले नागरिकता मात्रै छ फोटो कपी गरेको छैन भनें । उनले तुरुन्तै भनिन्- ‘उता बाहिर गएर गरेर ल्याउनुस् ।’ म बाहिर निस्कनै लाग्दा चिनेकै एकजना बज्यै जो बेलायत बस्नुहुन्छ उहाँलाई भेटें । उहाँको पनि समस्या त्यही नै रहेछ । उहाँले काउण्टरमा गएर समस्या राख्नुभयो । उहाँलाई पनि त्यही काउण्टरको केटीले एकपाना हातमा थमाएर त्यही भनिन् जो मलाई भनेकी थिइन् । बुढी बज्यैले भन्नुभयो- ‘मलाई लेख्न आउँदैन ।’ ती महिला कर्मचारीले नसुनेको झैं गरिन् । म फोटोकपी गरेर फर्किंदासम्म ती बज्यै त्यही उभिईरहनु भएको रहेछ । मैले मेरो फारम भरेपछि नागरिकता हेरेर बज्यैको फारम पनि भरिदिएँ अनि भनें- सही गर्न आउँछ ? ल यहाँ गर्नुस् । उहाँले ६५ वर्षको उमेरमा सही सिक्नुभएको रे- किरेमिरे धर्सो तान्नुभयो । मैले मेरो र बज्यैको त्यो कागज टेवलमा घसार्दै अगाडि बढाएँ । त्यही युवतीले मुख बजारिन- ‘एकैछिन बस्नुस् ।’ त्यही मौकामा मैले सोधें-‘खाता खोल्ने बेलामा त तपाईहरुले ६ महिनासम्म चलाएन भने निस्कृय हुन्छ भनेर त भन्नुहुन्न, यो निस्कृय गर्नुपर्ने कारण चाहिं किन नि बहिनी ?’ उनले निधारमा गाँठो पारिन्, अर्कीले घोक्रो सफा गर्दै भनिन् -‘हामीलाई थाहा भएन दाइ ।’ म पनि अवाक् भएँ अनि अलाप । अस्तु । ***
[email protected]