काठमाडौँ – जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ ।
यस विषयमा युवा तथा खेलकुद मन्त्रीले समेत विशेष चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाउनुभएको छ । गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौँ क्लबले सातजना राष्ट्रिय खेलाडीसहित सदस्यीय टोली जापान लिएर गएको थियो । जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए ।
उक्त मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यु १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ सौरभ खनाल, फैजल खान रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए । मैत्रीपूर्ण खेलका लागि जापान गएका सातै जना खेलाडी र अन्य दुई पदाधिकारी पाँच दिनको बसाइपछि नेपाल फर्किएका थिए ।
टोलीसँगै गएका अन्य नौ सदस्य भने आफूसँग नेपाल नफर्किएको एक खेलाडीले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।