काठमाडौं – प्रतिपक्षमा बस्ने करिब निश्चित गरिसकेको एमालेले प्रधानमन्त्रीको चुनावमा आफ्नै पार्टीबाट उम्मेद्वारी दिने तयारी गरेको छ । यो बिषयमा पार्टीले औपचारिक निर्णय नगरे पनि उम्मेद्वारी दिएर बिपक्षमा बस्नु उपयुक्त हुने धारणा पार्टीका नेताहरुले बनाइरहेका छन् ।
‘उम्मेद्वारी नै दिने भन्ने निष्कर्षमा हामी पुग्छौं होला’ एमाले सचिव प्रदीप ज्ञवालीले भन्नुभयो,‘यसबारेमा पार्टी्भित्र छलफलमा छौं।’ प्रधानमन्त्रीको चुनावमा एउटैमात्र उम्मेद्वारी भएपनि संसदभित्र मत विभाजनको प्रक्रिया मार्फत् नै मतदान गराउनुपर्छ ।
त्यस्तो मतदानमा सम्बन्धित उम्मेद्वारको विपक्षमा पनि मतदान गर्ने प्रावधान हुन्छ । यो प्रावधानका कारण आफ्नो उम्मेद्वार नउठाउदा पनि प्रतिपक्षमा बन्न सक्ने अवस्था हुन्छ ।तर पार्टीको इज्जतका लागि पनि हार्ने निश्चित हुँदा हुँदै पनि प्रधानमन्त्री चुनावमा दलहरुले उम्मेद्वारी दिने गरेका छन् ।
यसअघि केपी ओली प्रधानमन्त्री बन्दा काँग्रेसबाट तत्कालिन सभापति सुशील कोइरालाले उम्मेद्वारी दिनुभएको थियो ।प्रधानमन्त्रीको उम्मेद्वारी कसलाई बनाउने भन्ने एमाले टुंगो गरेको छैन । यद्यपी हालका प्रधानमन्त्री ओलीले चाही उम्मेदवारी नदिने सचिव ज्ञवालीले बताउनुभयो ।
उम्मेद्वारी दिएको अवस्थामा अन्य नेताहरु नै उम्मेद्वार बन्ने संभावना छ । पूर्वप्रधानमन्त्री भइसकेका बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पनि हार्ने चुनावमा उम्मेवार बन्न इच्छुक छैनन् ।
एमालेभित्र उपाध्यक्ष बामदेव गौतम र पूर्वसभामुख सुवास नेम्बाङलाई उम्मेवार बनाउने चर्चा चल्न थालेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।