काठमाडौँ – युरो कप फुटबलको उपाधि दावेदार मानिएको पोर्चुगललाई आईसल्याण्डले बराबरीमा रोकेको छ ।
फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको समूह एफ को खेलमा आईसल्याण्ड र पोर्चुगल १–१ गोलको बराबरीमा खेलेका हुन् । खेलको ३१ औं मिनेटमा पोर्चुगलका नानीले पहिलो गोल गरे पनि दोस्रो हाफको ५० औं मिनेटका आईसल्याण्डका बिर्की बार्नासनले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । बराबरीपछि पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्डले प्रतियोगिताको पहिलो खेलबाटै १ अंक जोडेको छ ।
यही समूहको अर्को खेलमा हंगेरीले अष्ट्रियालाई २–० ले हराएको छ । हंगेरीको जितमा एडम जालाई र जोल्टन स्टिबरले एक–एक गोल गरे । यी खेलसँगै युरोकप फुटबलमा आजबाट दोस्रो चरणका खेलहरू सुरु हुँदैछन् ।
आज बेलुकी नेपाली समय अनुसार पौने ७ बजे हुने खेलमा रुस र स्लोभाकिया भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे स्विट्जरल्याण्डले रोमानियासँग र राती पौने १ बजे आयोजक फ्रान्सले अल्बानियासँग खेल्नेछ ।