काठमाडौँ – बाबुराम भट्टराई नेतृत्वमा घोषणा भएको ‘नयाँ शक्ति नेपाल’ ले ‘समाजवाद उन्मुख वाम लोकतान्त्रिक’ सिद्धान्त अवलम्बन गर्ने भएको छ । पार्टी घोषणापछि राजधानीमा चलेको दुई दिने छलफल सत्रमा पार्टीले उक्त सिद्धान्त तय गरेको हो ।
फरक–फरक व्यक्तिबाट आएका दृष्टिकोण समेट्न ‘समाजवाद उन्मुख वाम लोकतान्त्रिक’ सिद्धान्त अवलम्बन गर्नु परेको संयोजक भट्टराईले बताउनुभयो । वामपन्थी र लोकतन्त्र परस्पर गाँसिएका विषय भएको उँहाको भनाइ थियो ।
‘बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादका सकारात्मक पक्ष ग्रहण गर्ने, कम्युनिज्मभित्रका पनि राम्रा कुरा लिएर अघि बढ्ने हो,’ छलफल सत्र समापनमा कार्यकर्तालाई आश्वस्त पार्दै भट्टराईले भन्नुभयो, आजको नागरिक दैनिकमा खबर छ ।
उँहाले अन्य पार्टीसँग दुस्मनी नलिने जनाउँदै देशलाई २५ वर्षमा समृद्ध बनाउने योजना सफल पार्न नयाँ आधारमा नयाँ सम्बन्ध बनाएर अघि बढ्ने दाबी पनि गर्नुभयो ।