जापान – हामी नेपालीहरू मनकारी छौैं अत्यन्तै मनकारी छौं त्यसैले त सधैँ आफूले सकी नसकी दुःख गरेर कमाएको पसिनाको कमाइ क्षण भरमै अरूको सहयोगको लागि दिन तुरुन्तै तत्पर भैहाल्छौ । आजभोलि जापानमा मात्रै होइन सम्भबत नेपालीहरू पुगेको अधिकांश देशहरूमा फेसबुक चन्दा आतङ्कले यसरी जरो गाडेको छ कि जसले सहयोगको नाममा जातीय रंग, क्षेत्रीय रंग र प्रदेशी रंगमा नजानिदो पाराले नेपालीहरूलाई विभाजित गराउँदै गैरहेको आभाष हुन थालेको छ ।
अहिले जापानमा चर्चामा रहेको विद्यार्थी बैनी भीमा कुमारी श्रेष्ठको उपचारको सहयोगको लागि भनेर जापानमा सक्रिय संस्थाहरू दिनरात आफ्नो बलबुतोले भ्याएसम्म लागिरहेका छन् । यसै क्रममा जापानमा रहेको पुरानो संस्था मध्येको एक नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज जापान (नेसाज) ले नेपाली मुटु रोगी भिमा कुमारी श्रेष्ठको सहयोगका लागि ५०,००० को प्रारम्भिक कोष घोषणा गर्दै थप सहयोगका लागि जापानबासी नेपालीहरूलाई अपिल गर्यो । नेसाजले विज्ञप्ति निकाल्दै, ‘हामी जस्तै अध्ययनको एउटा सपना बोकेर सन् २०१४ मा जापान आएकी चेली सुश्री भिमा कुमारी श्रेष्ठको मुटुको भल्बमा गम्भीर समस्या देखा परेर नेरिमा हिकारीगाअाेका अस्पतालमा उपचाररत रहेको खबर सुन्नु पर्दा हामी अत्यन्तै दुखित भएका छौँ ।’ मुटुको भल्वले काम गर्न नसक्ने अवस्थामा पुगिसकेकोले बिरामी भिमा कुमारी श्रेष्ठको आर्थिक अवस्था पनि कमजोर रहेको छ । मुटुको भल्ब परिवर्तनको लागि पनि १५० मान आवश्यक रहेको र सोको लागि दुखमा साथी बन्ने निर्णय नेसाजले गरेको छ । नेसाजले संस्थाको बचत कोष बाट २०,००० येन साथै कार्यसमितिका सबै सदस्यले व्यक्तिगत सहयोग गरी ५०,००० येनको सहयोग कोष स्थापना गरी सम्पूर्ण जापानबासी नेपालीहरुलाई सहयोगमा एक्यबद्दता जनाईदिन अनुरोध गर्यो ।
अर्को तिर जापानमा होकेन हुनेहरुको लागि लाग्ने अत्यधिक खर्च पनि न्यूनतम खर्चमा गराउन सकिने प्रावधान भएकोले त्यसको लागि ओखलढुंगा घर भएकी श्रेष्ठको निम्ति पूर्वी नेपाल विकास सहकार्य केन्द्रका साथीहरू हस्पिटलदेखि होकेन अफिस लगायतका ठाउँहरुमा खर्च कसरी कम गराउन सकिन्छ भन्दै सक्रिय भएर लागे । यो हप्ता जापानको अनलाइन मिडिया र फेसबुकमा भाइरल बनेको यो समाचार सुन्ने र पढ्नेहरुले जापान बाहिरबाट पनि सहयोग गरौँ भन्दै कमेन्टको वर्षा गराउन थाले तर कसैले पनि एकत्रित भएर कसरी सहयोग गर्ने भन्ने तिर सोच्न सकेनन् अथवा सस्तो लोकप्रियताको यो अवसर गुम्ला भनेर सोच्ने फुर्सद पाएनन् । जापानमा चन्दा संस्करणको यो पहिलो घटना भने हैन् यो अनबरत रूपमा चलिरहेको छ, यसको नियन्त्रण र निराकरण त्यति सजिलो होला जस्तो पनि छैन यद्यपि सोच्नु पर्ने बेला भने भएको छ । च्याउ जस्तै उम्रेका संस्थाहरूले मात्रै नपुगेर व्यक्तिगत रूपमा चन्दा उठाउनेहरू पनि उत्तिकै छन् ,जापानको नियम कानून अनुसार जाने हो भने चन्दा उठाउँदा पनि उठेको रकमबाट कर तिर्नु पर्ने व्यवस्था छ, तर यो विषयमा चन्दा उठाउन अस्वस्थ प्रतिस्पर्धा गर्नेहरु कति जानकार हुनुहुन्छ हुनुहुन्न थाहा भएन् ।
नेसाज आफूले ५०,००० येन कोषको गठन गर्दै सम्पूर्ण जापानबासी नेपाली र सङ्घ संस्थालाई आफ्नो अभियानमा एक्यबद्दता जनाउँदै भीमा कुमारी श्रेष्ठको सहयोगको लागि अपिल गर्दै गर्दा सबैले नेसाजको अनुरोधलाई स्वीकार गर्दै एकताको सन्देश दिदैँ सहयोग गरेको भए जापानबासी नेपालीमा एउटा नमूनापूर्ण सन्देश मूलक परोपकारी कार्यको नमूना पेश हुने थियो कि जस्तो लागेको थियो तर त्यसो हुन सकेन् सबैले आफू–आफू आफ्नै तरिकाले चन्दा सङ्कलन गरी भीमा कुमारी श्रेष्ठलाई सम्पर्क गरी बुझाउने तिर तछाड मछाड गर्न थाले र यो क्रम अझै चली नै रहेको छ कसैले जातीय संस्थाबाट सुरु गरे कसैले राजनीतिक संस्थाबाट पनि सुरु गरे एनआरएनको केही क्षेत्रीय समितिहरू लगायत अन्य संघसंस्थाहरू पनि त्यतिकै तँछाड–मछाड गरेर लागे तर ठूलो मन भएका हामी नेपालीहरू मध्ये कसैले पनि एक भएर एकत्रित गर्दै एकताको सन्देश दिंदै अगाडि बढौं भन्ने तिर विवेक पुर्याउन सकेनौ, अझ भनौ मन गरेनौं । अभिभाबकीय संस्था भएर एनआरएन जापानले पनि यस विषयमा रमिते हुनु बाहेक केही बोल्न सकेन् । अनि यसका क्षेत्रीय समितिहरूले पनि त्यसै गरे जुन केही जातीय र राजनीतिक संस्थाहरुले गरे, परिणाम सबैले आफ्नो-आफ्नो तरिकाले संकलन गरे र गर्दैछन् । आजका दिनसम्म तथापि कसैले पनि एकत्रित भई एकताको सन्देश दिंदै अगाडि बढ्ने खालको बाटो भने देखाएनन् ।
बढ्दो चन्दा आतंकलाई नियन्त्रण गर्ने अर्थात् सुब्यब्स्थित गर्नको लागि सबै संघ संस्थाहरूले सस्तो लोकप्रियताकाको लागि सामाजिक असामनजस्य र मतभेद बढाउने खालका कुराहरूलाई रोक्ने अथवा नियन्त्रण तथा व्यवस्थित गर्ने तिर लाग्दा भोलिको जापानबासी नेपाली समाजको उदाहरणीय रूप नदेखिएला भन्न सकिन्न । यसलाई आगामी दिनमा व्यवस्थित गरी अगाडि बढाउनको लागि एनआरएन जापानले नेतृत्वदायी भूमिका खेल्दै जापानमा सक्रिय सम्पूर्ण संघ संस्था बिच छलफल गरी अगाडि बढ्नु आजको आवश्यकता हो कि जस्तो महसुस भएको छ । जापान बसाइको झन्डै ११ वर्षको अनुभवमा आफ्नो समय र हैसियत अनुसार सामाजिक कार्यमा समर्पित गर्दै गर्दा सहयोगको लागि एक येन पनि खर्च गर्न नचाहने केही पात्रहरु यसपटक सहयोग उठाउनलाई सक्रिय देखिएको कुरा अत्यन्त सकरात्मक लाग्यो चाहे उँहाहरुलाई राजनीतिक डोरीले तान्यो अथवा जातीय डोरीले तान्यो जे-ले ताने पनि सहयोगी भावनाको जागृत गराएकोमा खुशी लागेको छ तर यस्ता किसिमको सहयोगहरु सबै संघसंस्थाहरू एकत्रित भई अभियानको प्रमुख जिम्मेवारी लिएर अगाडि बढेको अर्थात् सहयोगको प्रकृति अनुसार नजिक रहेको अभियान सुरु गर्ने संस्थाप्रति एक्यबद्दता जनाउँदै सामाजिक एकताको सन्देश दिन नसकेकोमा भने दुःख लागेको छ । आशा छ भोलिका दिनहरूमा जापानमा सक्रिय संघसंस्थाहरूले सस्तो लोकप्रियता भन्दा आपसी एकतालाई महत्त्व दिँदै आफ्नो संकुचित मानसिकताबाट केही माथि उठी जापानमा आइपर्ने र मातृभूमिमा आइपर्ने समस्याहरुमा एक भई एकताको सन्देश दिन अगाडि बढ्ने छन् ।
बिट मार्दै गर्दा सम्पूर्ण सहयोगी मनहरुलाई म हृदय देखि नै धन्यवाद दिन चाहन्छु, भीमा कुमारी श्रेष्ठको लागि मैले पनि आफूले सकेको सहयोग गरेको छु । यद्यपि यस्तो खालको सहयोगलाई जातीय, राजनीतिक रङ्ग नदिएर एउटा नेपालीको परिचय दिँदै एक भई एकताको सन्देशको साथमा गर्न पाए अझै सुनमा सुगन्ध हुने थियो कि भन्ने मेरो बिचार ।