काठमाडौँ – आन्दोलनरत संघीय गठबन्धनले राजधानीको खुलामञ्चमा आयोजना गरेको रिले अनसनप्रति नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समर्थन गरेका छन् ।
भट्टराईले बिहीबार काठमाडौँको खुलामञ्च पुगेर संघीय गठबन्धनको रिले अनसनप्रति ऐक्यबद्धता जनाउँदै ओली सरकारमाथि आन्तरिक समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउनुभयो । उँहाले अन्र्तराष्ट्रिय शक्तिहरूको हस्तक्षेप अन्त्यका लागि सरकारले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका दलका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । संघीय गठबन्धनको आन्दोलनप्रति पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पनि ऐक्यबद्धता जनाउनुभएको छ ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेता तथा कार्यकर्ता पहिचानका आधारमा प्रदेश बनाइनुपर्ने माग पूरा गर्नका लागि दबाब दिन भन्दै तीन दिनदेखि खुुलामञ्चमा १२ घन्टे रिले अनसनमा बसिरहेका छन् ।