काठमाडौँ – फिलिप काउटिन्होको ह्याट्रिकको मदतमा ब्राजिलले हैटीमाथि फराकिलो जित निकालेको छ ।
अमेरिकामा जारी कोपा अमेरिका फुटबलको बिहीवार बिहान फ्लोरिडामा भएको खेलमा काउटिन्होले ह्याट्रिक गरेपछि ब्राजिलले हैटीमाथि ७–१ को फराकिलो गोल अन्तरले जित दर्ता गरेको हो । खेलको १४ मिनेटमा गोल गर्दै काउटिन्होले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै २९ औँ मिनेटमा काउटिन्होले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । रेनाटो ओगस्टोले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमै ३–० को अग्रता दिलाए । यस्तै खेलको ५९ औँ मिनेटमा गाब्रिएलले गोल गरे भने ६७ औँ मिनेटमा लुकास लिमाले गोल गर्दै टोलीलाई ५–० को स्थितिमा पुर्याए ।
यस्तै ८६ औँ मिनेटमा रेनाटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौ गोल गरे भने इन्जुरी समयमा काउटिन्होले गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको ७० औँ मिनेटमा मार्सि्लिनले हैटीका लागि सान्तोना गोल गरेका थिए । जितपछि समूह ‘बी’ मा रहेको ब्राजिल दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको पेरुको एक खेलबाट ३ अंक छ ।